सप्तरी । साहुको पैसा लुकाउन लुटपाटको नाटक गर्ने एक जनालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका वडा नम्बर २१ निवासी २६ वर्षका बोलेरो चालक समसुद्दीन आलम छन् ।
पुस २२ गते साँझ ७ बजे आलम र सहचालक बाराको कलैया–७ का २४ वर्षीय अमिर श्रेष्ठसहित बोइलर कुखुरा ल्याउन वीरगन्जबाट राजविराजतर्फ हिँडे ।
सोही क्रममा रुपनी गाउँपालिका वडा नम्बर १ स्थित रायपुरमा दुईवटा मोटरसाइकलमा पुगेका चार जना हतियारधारीले गाडी रोके, त्यहाँ गाडीको साँचो सहित ३ लाख ८० हजार लुटेर लगेको घटनाबारे प्रहरीलाई जानकारी गराए ।
घटनाको जानकारी पाएलगत्तै पुगेको जिल्ला प्रहरी कार्यालय सप्तरीको टोलीले जाँच गर्दा गाडीको चाबी त्यही फेला परेको थियो ।
प्रहरीले चलाएको अनुसनधानका क्रममा बोल्न र सुन्न नसक्ने बोलेरोका सहचालक श्रेष्ठले इसारामार्फत आलमले पैसा आफ्नो घरमा लुकाएको संकेत गरे, त्यसपछि प्रहरीले आलमलाई शंकास्पद मानेर उनको घरमा खानतलासी सुरु ग¥यो । सोही क्रममा वीरगन्जस्थित आलमको घरबाट ३ लाख ८० हजार फेला पारेको प्रहरीले जनाएको छ ।
आलमले साहुबाट कुखुरा खरिदका लागि दिएको रकमका लागि लुटपाटको नाटक गरेको स्वीकार गरेको प्रहरी बताउँछ ।
पक्राउ परेकामाथि ठगी, आपराधिक विश्वासघात, र झुठा सूचना फैलाएको अभियोगमा मुद्दा दर्ता गरी सप्तरी जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान अगाडी बढाइएको छ ।