वीरगन्ज । लागू औषध सेवन गरी सवारी चलाएको आरोपमा दुइ जना पक्राउ परेका छन् । मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर १ बाघझोराबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्ला जनस्वस्थ्य कार्यालय मकवानपुरको टोलीले हेटौँडा–भैसे सडकखण्डमा गुड्ने सवारीका ५२ जना चालकहरुलाई चेकजाँच गरेको थियो । सोही क्रममा सर्लाहीबाट काठमाण्डौँतर्फ जाँदै गरेको ना १ ज ४६१९ र काठमाण्डौँदेखि हेटौँडाका लागि छुटेको ना १ ज ७०२८ नम्बरको सुमो चालकहरुले लागू औषध तथा मादक पदार्थ सेवन गरी सवारी चलाएकोले नियन्त्रणमा लिइएको हो ।
पक्राउ पर्नेमा सर्लाहीको बरथहवा नगरपालिका–८ बस्ने ३२ वर्षका फेमस खड्का र मकवानपुर हेटौँडा–८ बस्ने ३६ वर्षका धश्रीसुजन गुरुङ रहेका मकवानपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिए । पक्राउ परेकाहरुमाथि आवश्यक कानूनी प्रक्रिया अघि बढाइएको उनले बताए ।
लागू औषध तथा मादक पदार्थ सेवन गरी सवारी चलाउँदा हुने गरेका दुर्घटना र क्षति न्यूनिकरण गर्ने उद्देश्यले यो अभियान नै सुरु गरिएको प्रहरी बताउँछ । प्रहरीका अनुसार यो अभियान निरन्तर चल्नेछ ।