वीरगन्ज । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा जय ट्रफी प्रतियोगिता सुरु भएको छ । टेस्ट संरचनाको जय ट्रफी प्रतियोगिता आजदेखि जनकपुर र वीरगन्जमा सुरु भएको हो ।
प्रतियोगिताको उद्घाटन खेल जनकपुरको रजौलस्थित रामजानकी अन्तर्राष्ट्रिय रङ्शालामा मधेश प्रदेश र बागमती प्रदेशबिच खेल सुरु भएको हो ।
मधेश प्रदेशले टस जितेर ब्याटिङ रोजेको छ । यो समाचार तयार पार्दासम्म मधेस प्रदेशले २७ ओभरमा ६ विकेट गुमाएर ८४ रन बनाएको छ ।
मौसमको खराबीले खेल निर्धारित समयभन्दा दुई घण्टा ढिलो सुरु भएको छ । हुस्सुले गर्दा खेल ढिलो सुरु भएको आयोजकले जनाएको छ ।
त्यस्तै वीरगङ्गस्थित नारायणी रङ्शालामा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच खेल भइरहेको छ । ब्याटिङ गरिरहेको आर्मीले यो समाचारसम्म ३१ ओभर ३ बलमा ८ विकेट गुमाएर एक सय १४ रन बनाएको छ ।
गत वर्ष सम्पन्न प्रधानमन्त्री कपका शीर्ष चार स्थानमा रहेका मधेश प्रदेश, बागमती प्रदेश, नेपाल पुलिस क्बल र त्रिभुवन आर्मी क्लब यस प्रतियोगितामा सहभागी छन् ।