वीरगन्ज । रौतहटको राजपुर फरहदवामा करिब १३ वर्षअघि भएको बम विस्फोटको घटनामा नेपाली कांग्रेसका नेता मोहम्मद अफ्ताब आलमले उच्च अदालतबाट सफाइ पाएपछि सो घटनाका एक प्रत्यक्षदर्शी तथा गम्भीर घाइते गौरीशंकर राम चमारको पीडा फेरि सार्वजनिक भएको छ।
भारतको बिहार, सीतामढीका ४३ वर्षीय चमारले आज काठमाडौँमा पत्रकारहरुसँग आफूमाथि भएको अन्याय र जीवनभर भोग्नुपरेको शारीरिक तथा मानसिक पीडाको हृदयविदारक बयान दिएका छन्।
२०६४ को संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा भएको उक्त बम विस्फोटको घटनामा आफू कसरी घाइते भएँ र त्यसपछिको जीवन कस्तो भयो भन्नेबारे गौरीशंकरले रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा विस्तृत जानकारी दिए। उनी त्यतिबेला आलमको ‘राजा इँटा भट्टा’ मा काम गर्थे र घटना भएको दिन पैसा लिन आलमको काकाको घरमा बोलाइएका थिए।
‘घरको ढोकाको छेउमा पुगेको बम पड्कियो। आगो लागेपछि म भागेँ,’ गौरीशंकरले सुनाए। बम विस्फोटले उनका दुवै कानलाई स्थायी क्षति पुर्यायो भने अनुहार, घाँटी र छातीमा गम्भीर चोट लाग्यो। बेहोस अवस्थामा रहेका उनले सीतामढीको अस्पतालमा मात्र होस आयो। तीन महिनासम्म चलेको उपचारमा साढे तीन लाख भारतीय रुपैयाँ खर्च भएको उनले बताए। यस भयानक घटनापछि मोहम्मद अफ्ताब आलमले आफूलाई एक पटक पनि नसोधी वा एक रुपैयाँ पनि सहयोग नगरेकोमा गौरीशंकरले गहिरो गुनासो गरे।
उच्च अदालत वीरगन्ज इजलासले आलमलाई सफाइ दिँदै ‘बम पड्किएको पुष्टि हुन नसकेको’ उल्लेख गरे पनि गौरीशंकर भने बम विस्फोट भएकोमा अडिग छन्। ‘त्यहाँ बम विस्फोट भएको छ, मलाई बम लागेको छ,’ उनले दृढतापूर्वक भने, ‘अदालतको फैसलाले मलाई अन्याय भएको छ मैले भनिराखेको छु।’ उनले आफूलाई गाउँलेहरूले नै भारतसम्म पुर्याएको र दुई जना गाउँका मानिसहरू पनि जलेको बताए।
प्रहरी चौकीमा बयान दिएपछि आलमका मानिसहरूले आफ्नो घरमा गएर आमालाई ‘तिम्रो छोरा त गयो (मर्यो) अब, तिम्रो छोरा दुई÷चार साल बितेपछि बाँच्दैन’ भन्दै धम्की दिएको गौरीशंकरले बताए। मोहम्मद अफ्ताब आलम छुटेकोमा आफूलाई असाध्यै दुःख लागेको र धम्कीका कारण डर र त्रासमा बाँच्न कठिन भएको उनले आँसु झार्दै पोखे।
‘मेरो शारीरिक अवस्था नाजुक छ। काम पनि भेटिँदैन, काम गर्न पनि सक्दिनँ। म मर्ने कि बाँचने, मैले केही पनि देखिनँ। कसरी बाँचौँ म यो दुनियाँमा,’ पीडा पोख्दै उनले जीवनको अनिश्चितताबारे प्रश्न गरे।