वीरगन्ज । बारामा प्रहरीको अर्कमण्यता बढ्दै गएको घटना उजागर भएको छ । प्रहरीको निष्क्रियता बढेपछि सानो विवादमा घरमै पुगेर ढुंगा हानाहान तथा गोली फायरका घटनाहरु हुन थालेका छन् ।
आपराधिक गतिविधिबारे सूचना संकलन तथा प्रहरी गस्ती नहुँदा बारा जिल्लाको सुरक्षा व्यवस्था नै फितलो हुँदै गएको छ । जिल्लामा सुरक्षा व्यवस्था कमजोर हुँदै गएपछि प्रहरीमाथि सर्वसाधारणको विश्वास मात्रै उठेको छैन, प्रहरी हाम्रो साथीको स्लोगन नै फेल हुदैं गइरहेको छ ।
चिया पसलदेखि लिएर सामाजिक सञ्जालसम्म सिमरामा भएको घटना छयापछयप्ती चर्चा भइरहेका छन् । जुनकारणले बारा प्रहरीको काम कर्तव्यमाथि गम्भीर प्रश्न मात्रै उठाएको छैन, प्रहरीको अकर्मण्यता छताछुल्ल भएको छ ।
तरपनि प्रहरी भने गम्भीर प्रकृतिका घटनाबारे अझै सजग नभएको देखिन्छ । यसको अन्य पाटोमा जानु भन्दा पहिला घटना के हो त्यो बुझौं ।
घटना के थियो ?
घटना हो, शुक्रबार (हिजो ) राती साढे ९ बजेतिरको । सिमराम उपमहानगरपालिको वडा नम्बर–७ मा एक स्थानीयको घरमा एक्कासी आक्रमण हुन थाल्यो । अर्थात् स्थानीय प्रशुराम गिरीको घरमा राती फिल्मी शैलीमा आक्रमण हुन थाल्यो ।
उनको घरमा राती साढे ९ बजेतिर सोही वडाका वडाध्यक्ष सुनिल गुप्ताको नेतृत्वमा गएको समूहले गिरीको गेटमा, झयालमा तथा घर वरिपरि गाली गलौज गर्दै ढुंगा, इट्टा बर्साइरहेको छ । जुन भिडिओ सामाजिक सञ्जालमा भाइरल पनि छ ।
उक्त भिडिओमा घटना यतिमै सीमित भएको देखिदैन, वडाअध्यक्ष गुप्ता नेतृत्वको समूहले बरर्बता अपनाउदै उनको घरपरिवारमाथि आक्रमण गर्न थालेपछि गिरीले घरबाट एक राउण्ड हवाइ फायर गरेका छन् । जुन कुरा भिडिओमा छरपस्ट देखिएको छ ।
यसरी गिरीका घर परिवारमाथि आक्रमण हुन थाले, बचाउमा कोही नआएपछि गिरीले आफ्नो बचाउनमा बन्दुक चलाउनुपर्ने अवस्था आएको प्रहरीमा बयान दिएका छन् ।
प्रहरीलाइ प्राप्त सिसिटिभि फुटेका आधारमा सिमरा प्रहरी प्रमुख शुभद्रा बाइबाले भनिन्, ‘गिरीको घर परिवारमाथि आक्रमण भइरहेपछि उनी गोली चलाएका हुन, एक राउण्ड हवाइ फायर गरेको हामीलाई सबुतप्रमाण भेटिएको छ । हवाइ फायर गरिसकेपछि घटना नियन्त्रणमा आएको थियो ।’
उक्त हवाइ फायरपछि घटना नियन्त्रणमा आयो, त्यसपछि हामीलाई सूचना आयो । अनि हाम्रो टोली तुरुन्त घटनास्थलमा पुगेको थियो,’ उनले भनिन् ।
प्रहरीका अनुसार उक्त घटना शुक्रबार दिउँसो गिरीका परिवारबाट कसैले वडाअध्यक्षलाई अश्लिल शब्दसहित गाली गरेको थियो । डिएसपी बाइबाले भनिन्, ‘यही घटनाको बारेमा वडाअध्यक्षले आफ्नो टोली लिएर सोधपुछ गर्न पुगेको बयान दिएका छन्, जुन सोधपुछ गर्दा विवाद भएको स्वीकारेका छन् ।’
सिमरामा कलवार र गिरी समुदायबिच ‘टसल’ रहेकोले यो घटना भएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले बताएका छन् । हवाइफायर गरिएको बन्दुक लाइसेन्सी रहेको बारा प्रहरी प्रमुख तामाङले जनाएका छन् ।
के भन्छन् प्रहरी अधिकारी ?
यसरी गम्भीर घटना हुँदा पनि समयमै प्रहरी नपुग्नु भनेको प्रहरीको निष्क्रियताको पराकाष्टा भएको बारा जिल्लामा जिल्ला प्रमुख भएर काम गरिसकेका नाम नराख्ने शर्तमा एक एसपी बताउँछन् । उनका अनुसार प्रहरीको गस्ती, चेकिङ, उपस्थिति भएको भए, समाजमा डर रहनथ्यो ।
‘अनि त्यस डरले पनि मान्छे यस्ता उच्छृङ्खल गतिविधि गर्दैन्थे, प्रहरीको गस्तीहरु चलिरहेको भए त्यति विवाद हुँदैनथ्यो, समयमा प्रहरी पुग्थ्यो । अनि सबैलाई आफ्नो नियन्त्रणमा लिन्थ्यो, त्यसकारण यस्तो घटना हुनु भनेको प्रहरीको निष्क्रियताले हो,’ उनले भने ।
यो घटनामा प्रहरीले अहिलेसम्म कसैलाई नियन्त्रण्मा लिएर अनुसन्धान सुरु गरेको छैन । अझ प्रहरी जाहेरी कुरेर बसिरहेको जनाइएको छ ।
किन कसैलाई नियन्त्रणमा लिएको छैन ? अनुसन्धान किन सुरु गरिरहेको छैन ? त्यो आफैमा शंकास्पद मात्रै छैन, प्रहरीको भूमिकाप्रति गम्भीर सवाल उठाएको छ ।
तर त्यसको बाबजुद पनि बारा प्रहरीले यसलाई आफ्नो निष्क्रियता ठानेको छैन । बारा प्रहरी प्रमुख संतोष तामाङले प्रहरी दिनभरि ड्यूटी नै गरेको रहेको प्रतिक्रिया दिएका छन् ।
उनले भने, ‘हाम्रो सबै टोली होलीको सुरक्षामा खटिएको थियो, ड्यूटीमै थियो । तर यो घटनाको सूचना भएन, घरघरको सूचना राख्ने कुरा पनि भएन । अनि त्यही सूचना नभएर यो घटना हुन गएको हो ।’
‘तर जे कारणले घटना भएपनि गलत भएको छ, जाहेरी आयो भने छानविन गरेर कसुरदारलाई प्रहरीले छोडदैन,’ उनले भने ।