साइप्रस । होलीको दिन मात्रै मधेस प्रदेशमा सवारी दुर्घटनामा परी ९९ जना घाइते भएका छन् ।
होलीको दिन अर्थात् शुक्रबार दिनभर प्रदेशका जिल्लाहरुमा भएको ३५ वटा सवारी दुर्घटनाबाट ती सङ्ख्यामा मानिस घाइते भएका प्रहरीले जनाएको छ । यो दिन प्रदेशका सबै जिल्लामा सवारी दुर्घटना भएका मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।
त्यसमध्ये सर्लाही र महोत्तरीमा क्रमश: ९/९ सवारी दुर्घटना भएका प्रहरी बताउँछ । यस्तै रौतहटमा ६, सप्तरी ४, पर्सा/धनुषा/सिरहा २/२ र बारामा एउटा सवारी दुर्घटना भएको प्रहरीको रेकर्ड छ ।
कुन जिल्लाबाट कति घाइते ?
होलीको दिन प्रदेशका ८ वटै जिल्लामा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ९९ जना घाइते भएका प्रदेश प्रहरीले जनायो ।
यसरी घाइते हुनेहरुमा प्रदेश राजधानी धनुषाबाट सबैभन्दा बढी छन् । अर्थात् धनुषामा मात्र सवारी दुर्घटनामा परी ४३ जना घाइते भएका प्रदेश प्रहरी प्रवक्ता शान्तीराज कोइराला बताउँछन् ।
यसैगरी महोत्तरीमा १९, सर्लाही १४, रौतहट ८ र सप्तरीमा ७ जना घाइते छन् ।
पर्सामा ५ जना, सिरहामा २ जना तथा बारामा १ जना घाइते भएका प्रहरीको भनाई छ ।
कति पक्राउ ?
प्रदेश प्रहरीले होली पर्व मनाउने क्रममा शान्ती सुरक्षा खल्बलाउन खोजेको आरोपमा ५७ जनालाई पक्राउ गरेको बताएको छ ।
होली खेल्ने क्रममा झैझगडा तथा होहल्ला गरी शान्ती सुरक्षा मिच्न खोजेको आरोपमा ५७ जनालाई पक्राउ गरिएको उनले बताए ।
उनका अनुसार पक्राउ पर्नेहरुमा अधिकांस सर्लाहीबाट २४ जना छन् । यसैगरी पर्सामा ११, बारा ४, महोत्तरी ९, सिरहा ७ र धनुषाबाट २ जनालाई पक्राउ गरिएको उनको भनाइ छ ।
पक्राउ परेकाहरुलाइ उनीहरुको गल्तीअनुसार सजाय निर्धारण वा छाडिने प्रहरीले जानकारी दिएको छ ।
कति सवारी होल्ड ?
होलीको बहानामा ट्राफिक नियम उल्लङघन गर्ने, मादक पदार्थको सेवन गरी सवारी चलाउने तीन सय भन्दा बढी सवारी साधनलाई कारवाही गरिएको प्रहरीले जनायो ।
ओभर स्पिडमा सवारी चलाउने, हेलमेट नलगाउने लगायतका ट्राफिक नियम मिच्ने ३१७ वटा सवारीलाइ कारबाही स्वरुप ‘होल्ड’ मा राखेको प्रदेश प्रहरी प्रवक्ता कोइरालाले जनाए ।
होल्डमा राखिएका सवारीहरुमा ७ वटा चार चक्केबाहेक सबै दुइ पांग्रे रहेका प्रहरीले जनायो ।
सभ्य एवम् मर्यादित रुपले होली मनाउन नेपाल प्रहरी तथा ट्राफिक प्रहरीले संयुक्त रुपमा १६७ वटा चेकप्वाइन्ट स्थापना गरी कडाइ गरेको थियो ।
यस्तै होलीमा कानुन विपरीतका गतिविधि नियन्त्रण गर्न सुरक्षा योजनासहित चार हजार भन्दा बढी प्रहरी परिचालन गरेको थियो ।