ट्रेन्डिङ

मधेसमा होलीमा कडाइँ : १६७ ठाउँमा ट्राफिक प्रहरीको चेक प्वाइन्ट, ४ हजार बढी प्रहरी परिचालन

एसपीकै कमाण्डमा ४३२ जना ट्राफिक परिचलान

वीरगन्ज । तराई मधेसमा शुक्रबार होली पर्व मनाइँदैछ ।

होली मर्यादित र शान्तिपूर्ण बनाउन मधेस प्रदेशमा ट्राफिक प्रहरीले १६७ ठाउँमा चेक प्वाइन्ट बनाएर सवारी चेकजाँचमा कडाइ गरेको छ ।

होली पर्वलाई मर्यादित र शान्तिपूर्ण बनाउन, सवारी दुर्घटना न्यूनीकरण गर्न मधेसका ८ वटै जिल्लामा पथलैया ट्राफिक प्रहरी कार्यालयले विशेष सुरक्षा योजना लागु गरेको हो ।

पथलैया ट्राफिक प्रहरी प्रमुख एसपी भीमकिरण बोगटीका अनुसार होली पर्वलाई लक्षित गरी फागुन २८ गतेदेखि चैत २ गतेसम्म विशेष सुरक्षा योजना लागु गरिएको हो ।

होलीका क्रममा मादक पदार्थ तथा लागु पदार्थ सेवन गरी सवारी साधन चलाउने, सवारी नियम तोड्ने, उच्छृङ्खल गतिविधि गर्नेलाई नियन्त्रण गर्न व्यापक संख्यामा ट्राफिक प्रहरी परिचालन गरिएको बोगटीको भनाइ छ । यसका लागि मधेसका १६७ ठाउँमा चेक प्वाइन्ट राखेको उनले बताए ।

बोगटीका अनुसार राजमार्ग तथा सदरमुकामहरूमा विशेष सावधानी अपनाइएको छ ।

खासगरी मोटरसाइकलमा तीनजना बस्ने, मापसे तथा लापसे गरेर सवारीसाधन चलाउनेमाथि यो वर्ष विशेष निगरानी गरिएको पथलैया ट्राफिक प्रहरीले जनाएको छ ।

बोगटीका अनुसार एसपीकै कमाण्डमा मधेस प्रदेशका ८ वटै जिल्लामा ४३२ जना ट्राफिक प्रहरी परिचालन गरिएको छ ।

खासगरी लापसे गरेर सार्वजनिक सवारीसाधन चलाउनेलाई मुद्दा चलाएरै कारबाही गर्ने रणनीति लिइएको पथलैया ट्राफिक कार्यालय प्रमुख बोगटीको भनाइ छ ।

ट्राफिक प्रहरीले होलीमा लापरबाही गरेर सवारीसाधन चलाउने, तीन जना बसेर मोटरसाइकल चलाउने, हेलमेट नलगाउने, उच्छृङ्खल गतिविधि गरेर सवारीसाधन चलाउनेलाई ‘होल्डिङ’ गर्ने रणनीति लिएको छ ।

नियमविपरीत सवारीसाधन चलाउनेलाई आजको दिन पूरै होल्ड गर्ने रणनीति रहेको ट्राफिक प्रहरी प्रमुख बोगटीले बताए । मोबाइल टोली, क्यूआरटी टोली, सरप्रराइज चेकिङ भइरहेको पथलैया ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

‘कानुन विपरीतका गतिविधि नियन्त्रण गर्न सुरक्षा योजनासहित चार हजार भन्दा बढी प्रहरी परिचालन गरिएको मधेस प्रदेश प्रहरी कार्यालयका एसएसपी शान्तिराज कोइरालाले जानकारी दिए ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै