रौतहट । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहले अब फेरि अर्को मूर्खता नगर्न चेतावनी दिएका छन ।
पूर्वप्रधानमन्त्री प्रचण्डले विगतमा ठुला ठुला गल्ती गरेका पूर्व राजा शाहले अब फेरि अर्को मूर्खता गरेमा अस्तित्व नै समाप्त हुने चेतावनी दिएका हुन ।
एकपटक मूर्खता गर्दा नेपाली जनताले कारबाहीको सट्टा उदारता पूर्वक आरामले बस्न दिएको प्रचण्डले स्मरण गर्दै भने अब त्यसलाई कमजोरी ठानेर अर्को मूर्खता गरेमा अस्तित्व नै समाप्त हुनेछ ।
आज विहान मर्निङवाक पछि रौतहटको गरुडामा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै उनले ज्ञानेन्द्रलाई राजनीति नै गर्नु छ भने पार्टी खोलेर चुनावमा आउन सुझाव दिए।
राजसंस्था फर्किन असम्भव रहेको बताउँदै उनले हल्लाखल्लाले इतिहासको जग पछाडि फर्काउन नसकिने उल्लेख गरे ।