काठमाण्डौ । भारतको ओडिसास्थित केआईआईटी कलेजमा मृत भेटिएकी प्रकृति लम्साललाइ न्याय दिन संसदमा आवाज उठेको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा बोल्दै नेपाली छात्रा लम्सालको मृत्युको सम्बन्धमा सांसदहरूले जोडदार रूपमा आवाज उठाएका हुन् ।
रुपन्देहीकी लम्सालको ओडियास्थित केआईआईटी कलेजमा मृत्यु भएको थियो ।
उक्त घटनापछि कलेज प्रशासनले थप नेपालीहरूलाई दुर्व्यवहार गरेको तथा कलेजबाट बाहिर निकालेको विषयको विरोध भइरहेको छ । सोही विषयलाई प्रतिनिधिसभा बैठकमा पनि सांसदहरूले जोडदार रूपमा उठाइएका हुन् ।
सांसद माधव सापकोटाले लम्सालको मृत्युसम्बन्धी घटनाको न्यायोचित छानबिनको माग गरे । उनले यसबारे आन्दोलन गरेका विद्यार्थीहरूमाथि क्याम्पस प्रशासनले अमानवीय व्यवहार गरेको समेत बताए ।
साथै उनले सरकारलाई उच्चस्तरीय राजनीतिक र कूटनीतिक संवादका लागि आग्रह गरे ।
यसैगरी सांसदहरु ठाकुर गैह्रे, मनिष झा, ध्रुवबहादुर प्रधान, माधव सापकोटा, छविलाल विश्वकर्माले लम्सालको मृत्युबारे कुरा उठाए । उनीहरूले क्याम्पसका प्रशासकहरूको नेपालीप्रति बोलिएको भाषा र व्यवहार आपत्तिजन्य भएको र नेपाल र नेपालीप्रति गरिनुपर्ने न्यूनतम व्यवहार पनि नदेखाएका बताए ।