ट्रेन्डिङ

वीरगन्जमा ‘एचपीभी’ खोप लगाउने क्रममा लापरवाही, कमजोरी सच्याउन सिडियोको निर्देशन

वीरगन्ज । जिल्ला प्रशासन कार्यालय पर्साले ’एचपीभी’ खोप लगाइने क्रममा लापरवाही भएकाले कमजोरी सच्याउन निर्देशन दिएको छ । कार्यालयले लापरवाही सच्याउन वीरगन्ज महानगरपालिकालाई निर्देशन दिएको हो ।

महानगरअन्तर्गतको नगवास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा किशोरीलाई खोप लगाउने क्रममा लापरवाही भएको जनाउँदै कमजोरी सच्याउन पर्साका सिडियो गणेश अर्यालले निर्देशन दिएका हुन् ।

उनले महानगरका प्रमुख प्रशासकीय अधिकृतलाई उक्त विद्यालयमा सञ्चालन खोप कार्यक्रम स्थगन गर्न सोमबार पत्राचार समेत गरेका छन् ।

खोप सञ्चालनपूर्व जिल्ला खोप समन्वय समितिको बैठकमा पूर्वतयारी लगायत विषयमा पनि छलफल भएको कुराको समेत ध्यानाकर्षण प्रशासनले गराएको छ ।

प्रजिअ नेतृत्वको अनुगमन टोलीले खोप लगाउने स्थानको सरसफाइमा ध्यान नदिएको, ‘सेफ्टी बक्स’को व्यवस्था नगरिएको र ‘भ्याक्सिङ केरियर’ तथा सिरिन्जसमेत फोहर भुइँमै राखेर खोप लगाइएको कमजोरी औँल्याएको छ ।

पत्रमा खोपस्थलमा न्यूनतम सावधानी, सरसफाइ, सुरक्षालगायत विषय उपेक्षित गरिएको, आइसप्याकलगायत सामग्री, कटन तथा निडललगायत स्वास्थ्य उपकरणको उपयुक्त तवरले प्रबन्ध नभएको उल्लेख गरिएको छ । 

सो अनुगमनका क्रममा खोप सञ्चालनपूर्व काउन्सिलिङ तथा खोप पश्चात आराम गर्ने स्थलको प्रबन्ध नगरिएको र सहभागी किशोरीको नाम दर्ताका क्रममा विद्यालयका विद्यार्थीलाई प्रयोग गरिएको जनाएको छ ।

पर्साका १४ वटै पालिकाका ३८ हजार पाँच सय ३७ जना किशोरीलाई एचपीभी खोप लगाउने कार्यक्रम छ । जिल्लामा सोमबारसम्म पहिलो चरणको खोप अभियान सम्पन्न भइसकेको छ ।

दोस्रो चरणको खोप अभियान भने यही माघ ३० देखि फागुन ६ गतेसम्म सञ्चालन गरिने छ । सो अभियानअन्तर्गत महानगरको १७ देखि ३२ वडा र अन्य छ पालिकामा लगाइने कार्यक्रम छ । जसमा ठोरी, पकहाँमैनपुर, कालिकामाई, धोबिनी, विन्दवासिनी, छिपहरमाई पालिका र बहुदरमाई नगरपालिकामा खोप अभियान सञ्चालन गरिने छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै