सिरहा । सिरहाको बिष्णुपुर गाउँपालिकाको गाडीमाथि तोडफोड गरिएको छ ।
उपाध्यक्ष गीता कुमारी सिंहले आफ्नै पालिकाको बा २ झ ३६४३ नम्बरको सरकारी गाडी तोडफोड गरेकी हुन् । कार्यालय जानका लागि आफूलाई घरमा लिन नआएको भन्दै उनले सरकारी स्कारपीयोमाथि रिस पोखेकी छन् ।
उपाध्यक्ष सिंहले ढुंगा र इँटाले हानेर स्कारपीयोको झ्याल र ढोकाको सिसा फुटाउनुको साथै गाडीको विभिन्न भाग कुच्च्याएकी छन् ।
उक्त गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष एउटै गाडी चढ्दै आएका छन् । अध्यक्षले गाडी धेरै प्रयोग गर्ने र उपाध्यक्षले कुनै काममा जान गाडी माग्दा दिन आनाकानी गर्दा उपाध्यक्ष आक्रोशित हुँदै आएको कर्मचारीहरुको भनाइ छ ।
आज पनि उपाध्यक्षले गाडीलाई घरमा लिन बोलाउँदा नआएपछि गाउँपालिका अध्यक्षकै घरअगाडि रोकेएर राखेको गाडी उपाध्यक्षले तोडफोड गरेको बताइएको छ ।
गाउँपालिका अध्यक्ष सत्य नारायण यादवले भने उपाध्यक्षले ९ बजे नै गाडी बोलाएको र चालक जान ढिला हुँदा गाडी रोकिएकै ठाउँमा आएर तोडफोड गरेको बताए । उपाध्यक्षलाई सुविधा दिँदै आएपनि बखेडा मात्रै झिक्ने काम भएको उनको भनाइ छ । तर, आफूले उनलाई गाडी दिन आनाकानी गरेको विषय साँचो नभएको उनको दाबी छ ।
यस विषयमा उपाध्यक्ष सिंहसँग थप बुझ्न सम्पर्क गर्दा उनको मोबाइल नम्बर स्वीच अफ आएको छ ।