सर्लाही । सर्लाहीको रामनगर गाउँपालिकामा प्रहरीले गोली चलाएको छ । प्रहरी र स्थानीयबिच झडप भएपछि स्थिति नियन्त्रणमा लिनका लागि प्रहरीले गोली चलाएको हो ।
गाउँपालिकाको वडा नम्बर ५ स्थित बैजनाथ चोकमा गएराती नेपाल प्रहरी तथा ट्राफिक प्रहरीले मापसे चेकिङ गरेका थिए । सोही क्रममा वडाध्यक्ष श्रीनन्दन यादवसहितको टोलीले अवरोध गर्न खोज्दा अवस्था तनावग्रस्त बनेको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।
मधेस प्रदेश प्रहरी प्रवक्ता सुवाष चन्द्र बोहराका अनुसार प्रहरीले सोही क्रममा स्थिति नियन्त्रणमा लिनका लागि पाँच राउण्ड हवाई फायर गरेको हो ।
उनीहरुको आक्रमणबाट प्रहरी हवल्दार शैलेन्द्र रायको टाउकोमा चोट लागेर घाइते भएका छन् । यादवको जनकपूर न्यूरो अस्पतालमा उपचार भइरहेको प्रवक्ता बोहराले बताए ।
स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले सर्लाहीका डीएसपीको कमाण्डमा थप टोली परिचालन समेत गरेको थियो । अहिले त्यहाँको अवस्था सामान्य भइसकेको प्रहरीले जानकारी दिएको छ ।