जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले नवजात शिशुको मृत्यु हुने गरेको पीडामा रहेका मिथिला नगरपालिका–१० लालगढस्थित माझी टोलका कृष्णबहादुर माझीसँग टेलिफोन संवाद गरेका छन् ।
काठमाडौंबाट प्रकाशित एक दैनिकमा शनिबार माझी टोलमा जन्मिएका नवजात शिशुको मृत्यु हुँदैआएको पीडाबाट थलिएकाहरूका बारेमा समाचार प्रकाशन भएको छ । समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै मुख्यमन्त्री सिंहले वस्तुस्थितिबारे जानकारी लिन आफ्ना प्रेस सल्लाहकार अनिलकुमार कर्ण र स्वकीय सचिव रविन सिंहलाई माझी टोल पठाएका छन् ।
मुख्यमन्त्री सिंहका प्रेस सल्लाहकार कर्णले माझी टोलका पीडितहरुसॅंग उनीहरुको दैलौमे पुगेर नवजात शिशुको मृत्यु हुने गरेका घटनाबारे जानकारी लिएका छन् । पीडित कृष्णबहादुर माझीसँग टेलिफोनमार्फत कुरा गर्दै त्यस टोलमा जन्मिएका कतिपय बच्चाको दुईचार महिनामै अकाल मृत्यु हुने गरेको घटनाका कारण पहिचान तथा समाधानका लागि विशेषज्ञ चिकित्सक सम्मिलित मधेश स्वास्थ्यविज्ञान प्रतिष्ठानको टोली पठाउने बताए ।
उनले कृष्णबहादुरको नवजात शिशुको एक महिनाअघि भएको निधनप्रति शोक व्यक्त गर्दै अकालमा कुनै पनि शिशुको ज्यान गुम्ने स्थितिलाई रोक्न प्रदेश सरकारले हरसम्भव प्रयास गर्ने उल्लेख गरे ।
उनले भने, ‘अहिले म स्थितिका विषयमा चिकित्सकीय अध्ययन गर्न विशेषज्ञ चिकित्सकसहितको टोली आइतबार पठाउँदैछु । टोलीले दिने प्रतिवेदनका आधारमा माझी टोलमा आमाबच्चा लगायतलाई उपचार तथा अन्य राहत कार्यको प्रबन्धन प्रदेश सरकारले गर्नेछ ।’
माझी टोलमा दुइटा श्रीमतीबाट जन्मिएका १५ सन्तानमध्ये १० को ज्यान गुमेका वीरबहादुर माझीलगायतका व्यक्तिसँग मुख्यमन्त्रीका प्रेस सल्लाहकार कर्णले भेटेका थिए । उनले वंशानुगत, रहनसहन, उपचार अभाव आदिमध्ये कुन कारणले नवजात शिशुको मृत्यु भएको भन्ने विषयमा प्रदेश सरकारको स्वास्थ्य टोलीले यकिन गरेपछि माझी टोलमा प्रवद्र्धनात्मक, नियन्त्रणात्मक तथा उपचारात्मक कार्य सरकारले अघि बढाउने जानकारी दिए ।
आइतबार मधेश स्वास्थ्यविज्ञान प्रतिष्ठानको संयोजनमा प्रदेशको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयको अस्पताल विकास तथा चिकित्सा महाशाखाका प्रमुख वर्षा प्रकाश, प्रतिष्ठानका वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.रुबी सिँहलगायतका चिकित्सा अधिकारीको टोली आइतबार माझी बस्तीमा जाने प्रतिष्ठानका उपकुलपति डा.अंकुर साहले जानकारी दिए ।