वीरगन्ज । नेपाल पत्रकार महासंघ मधेस प्रदेशको पहिलो बैठक सम्पन्न भएको छ ।
विभिन्न ५ बुँदे निर्णयहरु गर्दै मंगलबार बैठक सम्पन्न भएको हो । पत्रकार महासंघ मधेस प्रदेश अध्यक्ष श्याम बञ्जाराको अध्यक्षतामा बसेको बैठकले पत्रकारहरुको हकहितका लागि विभिन्न निर्णयहरु गरेको छ ।
बैठकले पहिलो बुँदामा महासंघको मंसिर २८ सम्पन्न निर्वाचनलाई सम्पन्न गराउन योगदान दिएबापत निवर्तमान कार्यसमिति, निर्वाचन समितिहरु, महासंघक सदस्य, सरोकारवाला तथा सम्बन्धित पक्ष लगायतमा धन्यवाद ज्ञापन गरेको छ ।
यसैगरी बैठकले कार्यसमितिको बैंक खाता संचालन गर्दा कोषाध्यक्षको अनिवार्य तथा अध्यक्ष वा महासचिवमध्ये एकजनासमेतको गरी संयुक्त हस्ताक्षरमार्फत गर्ने निर्णय गरेको छ ।
यस्तै तिन महिनाभित्र जनकपुरमा मधेश प्रदेश कार्यसमितिको कार्यलय स्थापना र ब्यवस्थापन गर्न भवन भाडाँमा लिने प्रक्रिया अघि बढाउने, यसै कार्यकालभित्र महासंघको स्थायी भवन निमार्णका लागि जनकपुरधामभित्र जग्गा प्राप्तिका निम्ति सम्बन्धित निकायहरुसँग समन्वय र सहकार्य गर्दै अघि बढ्ने निर्णय भएको महासंघ मधेस प्रदेश अध्यक्ष बञ्जाराले बताए ।
उनका अनुसार पत्रकारहरुको स्वास्थ्य, दुर्घटना तथा आर्थिक समस्यालाई सम्बोधन गर्न कल्याणकारी कोषलाई सृदृढ बनाउने, निशुल्क दुर्घटना तथा स्वास्थ्य बिमा प्रभावकारी बनाउन मधेश सरकारसँग सहकार्य गर्ने, सरकारी अस्पतालहरुमा पत्रकारको निशुल्क तथा परिवारका सदस्यको उपचारमा ५० प्रतिशत छुटका लागि पहल गर्ने निर्णय समेत बैठकबाट गरिएको छ ।
त्यसैगरी निजी तथा सरकारी विधालयमा अध्यापन गर्ने पत्रकारका छोराछोरीलाई ५० प्रतिशतसम्मको छुटको व्यवस्था मिलाउन समन्वय गर्ने, मधेश प्रदेश सरकारले उपलब्ध गराउने लोककल्याणकारी बिज्ञापन रकम शतप्रतिशत बढाउन पहल गर्ने र मिडिया काउन्सिल मधेश प्रदेशमा श्याम बन्जारालाई पदेन सदस्यका रुपमा नियुतिका लागि पत्र पठाउने निर्णय भएको जनाइएको छ ।