ट्रेन्डिङ

मधेश सरकारले ६०० बढी सीमान्तकृत छात्रालाई छात्रवृत्ति दिने

जनकपुरधाम । सीमान्तकृत तथा विपन्न समुदायका छात्राको उच्चशिक्षामा पहुँच बढाउन मधेश प्रदेश सरकारले मधेश प्रदेशका छ सयभन्दा बढी छात्रालाई छात्रवृत्ति दिने प्रक्रिया अघि बढाएको छ ।

दलित, विपन्न, मुस्लिम तथा जेहेन्दार गरी चार समूहमा विभक्त सो छात्रवृत्तिका लागि लाभग्राहीको छनोट अन्तिम चरणमा पुगेको मधेश प्रदेश शिक्षा निर्देशनालयका निमित्त निर्देशक ठूलोबाबु दाहालले बताए ।

उनका अनुसार छात्रवृत्तिका लागि छनोटमा परेका निर्धारित समूहका छात्रालाई सामान्य धारतर्फ २५ हजार र प्राविधिक धारतर्फ ३५ हजार रुपैयाँ वार्षिक छात्रवृत्ति रकम दिइनेछ । पर्याप्त सँख्यामा आवेदन परेकाले निर्धारित चार समूह र जिल्लागत ढंगले बराबरी हुनेगरी छात्रवृत्तिका लागि उम्मेदवार छनोट हुने निमित्त निर्देशक दाहालको भनाइ छ ।

प्रदेश सरकारले सो कार्यक्रमका लागि चालू आर्थिक वर्षमा एक करोड पचास लाख रुपैयाँ विनियोजन गरेको छ । प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले कमजोर तथा जेहेन्दार छात्रालाई उच्चशिक्षा हासिल गर्न सुविधा हुने र आत्मबल वृद्धि गर्ने उद्देश्यले कार्यक्रम छात्रा छात्रवृत्ति ल्याइएको बताए ।

उनले आर्थिक कारणले नै छात्राको पढाइ अवरुद्ध हुने गरेको अनुभवका आधारमा छात्रवृत्ति दिएर छोरीशिक्षालाई प्रदेशमा प्रवद्र्धन गर्न थालिएको पनि उल्लेख गरे ।
मधेश प्रदेशमा जन्मिएर देशका कुनै पनि सामुदायिक सार्वजनिक शिक्षण संस्थामा अध्ययनरत निर्धारित समूहका छात्रालाई दरखास्त दिन गत मंसिरमा आह्वान गरिएको थियो ।

जनकपुरधामस्थित प्रदेश शिक्षा निर्देशनालय र प्रदेशका आठवटै जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाइको कार्यालयमा दरखास्त दिने व्यवस्था गरिएको थियो ।

प्रदेश शिक्षा निर्देशनालयका निमित्त निर्देशक दाहालले निर्देशनालयमा एक हजार ७१ वटा दरखास्त परेको र विभिन्न जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाइहरूबाट दरखास्त संकलन भइरहेको जानकारी दिए ।

छनोटमा परेका छात्रालाई सीधा खातामा जानेगरी छात्रवृत्ति रकम पठाइने निर्देशनालयका अधिकृत थनेश्वर यादवले बताए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै