वीरगन्ज । पैसा सापटी नदिँदा बाराका प्रहरी भान्से राजकुमार रुम्बाको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
चिनजानको साथीले सापटी पैसा माग्दा नदिएपछि प्रहरीका कार्यालय सहयोगी रुम्बाको हत्या गरिएको प्रहरीको अनुसन्धानबाट खुलेको हो । पक्राउ परेकाहरुसंग गरिएको सोधपुछ तथा बयानका क्रममा ऋण तिर्न सापटी पैसा माग्दा रुम्बाले नदिएपछि हत्या गरेको स्वीकारेका छन् ।
नाम नराख्ने शर्तमा अनुसन्धानमा सहभागी एक अधिकृतले भने, ‘हत्याका अनुसन्धान नजिक प्रहरी पुगिसकेको छ, किनकी पक्राउहरुमध्ये एकजना आफूले नै हत्या गरेको स्वीकारीसकेका छन् । पैसा माग्दा नदिएको कारणले हत्या गरेको स्वीकारेका छन् ।’
पक्राउ परेकाहरुमध्ये एकजनाले प्रहरीमा बयान गरेका छन्, ‘म ऋणमा थिए, रुम्बासंग पैसा सापटी मागिरहेको थिएँ, तर उसले दिएन । अवस्था एकदम दयनीय भएपछि साथीलाई बोलाए, हारगुहार पनि गरे । तर नसुनेपछि मार दिएको हुँ ।’
प्रहरीको भान्से रुम्बालाई गोली प्रहार गरी हत्या गरिएको घटनामा तीनजना पक्राउ परेपछि प्रहरी अनुसन्धान साँघुरिँदै गएको दाबी गरिएको छ । प्रहरीको ‘स्पेसल’ टोलीले तीनैजनासंग गरेको अनुसन्धान, बयान तथा घटनासंग सम्बन्धित सबुतप्रमाण फेला परेपछि अनुसन्धान साँघुरिएको बारा प्रहरी प्रमुख महेन्द्र खडकाले बताए ।
उनका अनुसार प्रहरीको विशेष मिहिनेतका कारण एक सातामै हत्याका घटनाका दोषी लगभग ‘फाइन्ड आउट’ गरिएको हो । उनले भने, ‘तथापि अझ पनि सोधपुछ तथा बयान लिने काम भइरहेको छ, त्यो सकिएपछि हत्याका वास्तविक कारण खुल्नेछ । अनि सकभर हामी भोली सबै सबुतप्रमाण तथा कनेक्सनसहित सार्वजनिक गर्ने तयारी गरेका छौं ।’
पक्राउ परेका तिनैजनासंग जिल्ला प्रहरी कार्यालय बारामा राखेर सूक्ष्म अनुसन्धान चलिरहेको छ । राष्ट्रिय अनुसन्धान विभाग बाराका इन्स्पेक्टर श्रीकान्त तिवारीसहित तीनजनालाई पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ ।
प्रहरीको हत्यामा संलग्न अन्य दुइजना पनि बारा जिल्लाको इनर्वा सिराको रहेको प्रहरीले जानकारी दिएको छ । यद्यपी, बाँकी दुइजनाको नाम भने अनुसन्धान जारी नै रहेकोले प्रहरी अझ गोप्य राखेको छ । गएको शनिबार अगाडि बारामा सानो हतिायरले प्रहरी भान्से रुम्बालाई गोली हानी हत्या गरिएको थियो ।
जिल्लाको सिमरा उपमहानगरपालिकाको वडा नम्बर–११ स्थितको सडकखण्डबाटको उनको शव बागमती नम्बरको कारबाट बेवारिसे अवस्थामा फेला परेको थियो । बागमती प्रदेशको ०१–०२८–च– ७६१६ नम्बरको गाडी लिएर कलैया जानका लागि निस्केका थिए, तर त्यसको भोलीपल्ट मृत भेटिएका हुन ।
इलाका प्रहरी कार्यालय सिमरामा दरबन्दी भएका प्रहरी भान्से रुम्बा हाल सिमरा एयरपोर्टको सुरक्षा गार्डमा कार्यरत थिए ।