ट्रेन्डिङ

मृत भेटिएका प्रहरी भान्से रुम्बाको गोली प्रहारबाट हत्या, घटनामा संलग्न रहेको आशंकामा अनुसन्धानका इन्सपेक्टरसंग थालियो सोधपुछ

वीरगन्ज । बारामा तीन दिन अगाडि मृत भेटिएका प्रहरी भान्सेको गोली प्रहारबाट हत्या भएको खुलेको छ ।

शनिबार विहान मृत भेटिएका प्रहरी भान्से राजकुमार रुम्बाको सानो हतियारको गोली प्रहारबाट हत्या गरिएको पोष्टमार्टम रिपोर्टबाट खुलेको हो ।

नेपाल प्रहरीमा कार्यालय सहयोगीमा कार्यरत (भान्से) रुम्बाको सानो हतियारको गोली हानी हत्या गरिएको बारा प्रहरी स्रोतले जानकारी दिएको छ ।

बारा प्रहरी प्रमुख महेन्द्र खड्काले प्रहरीको भान्से रुम्बाको गोली प्रहारबाट हत्या भएको नारायणी अस्पतालमा भएको पोष्टमार्टम रिपोर्टमा देखिएको बताए । तर हतियार कुन हो त्यो खुल्न नसकेको प्रहरी स्रोतले जनाएको छ ।

बरामद गोली कुन हतियारको हो त्यसको परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाइएको प्रही स्रोतको भनाइ छ ।

यसरी गोली प्रहारबाट प्रहरीको हत्या गरिएपछि बारा प्रहरीले सूक्ष्म अनुसन्धान थालेको जनाइएको छ ।

बारा प्रहरी प्रमुख खड्का अनुसार यसका लागि छुट्टै टोली परिचालन गरिएको छ । गहन अनुसन्धानका लागि काठमाडौं तथा मधेस प्रहरीको छुट्टाछुट्टै टोली परिचालन गरिएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

यहीक्रममा घटनामा संलग्न रहेको आशंकामा प्रहरीले राष्ट्रिय अनुसन्धान बाराका प्रहरी निरीक्षक श्रीकान्त तिवारीसंग सोधपुछ सुरु गरेको छ । आफ्नो नियन्त्रणमा लिएर प्रहरी अनुसन्धानका इन्सपेक्टर तिवारीसंग सोधपुछ थालेको बारा प्रहरी प्रमुख खड्काले बताए ।

प्रहरी प्रमुख खड्काले भने, ‘अनुसन्धानका इन्स्पेक्टर साहेबले आफ्नो गाडी चलाउन दिनुभएको छ, किन दिनु ? यी दुबैजनामा सम्बन्ध के थियो ? यी प्रश्नहरु गम्भीर छन् । शंकास्पद पनि छन । त्यसकारण उहाँसंग हामीले आफ्नो निगरानीमा राखेर सोधपुछ थालेका हौं ।’

मृतक रुम्बाको इलाका प्रहरी कार्यालय सिमरामा दरबन्दी थियो । तर हाल सिमरा विमानस्थलको सुरक्षागार्डमा कार्यरत थिए ।

सिमरा उपमहानगरपालिका वडा नम्बर–११ स्थितको सडकखण्डमा शनिबार विहान उनको शव बेवारिसे अवस्थामा फेला परेको थियो ।

घटनाको अनुसन्धानमा सहभागी एक अधिकारीका अनुसार राष्ट्रिय अनुसन्धानका प्रहरी निरीक्षक तिवारीसंग उनी शुक्रबार राती साढे ९ बजे गाडी लिएर कलैयाँतर्फका लागि निस्केका थिए ।

‘तर गाडी चालकको शव विहान सिमरा उपमहानगरपालिकामा फेला पर्नु, गाडी लिएर गएकोबारे ती इन्सपेक्टरसाहेबले प्रहरीलाई जानकारी नदिनु, यो सबै शंकास्पद छ । त्यसकारण घटना रहस्यमी बन्दै गएको छ,’ उनले भने ।

यहीकारणले प्रहरीले पहिलो चरणमै अनुसन्धानका लागि इन्सपेक्टरलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको उनको दाबी छ ।

बागमती नम्बरको ०१–०२८–च– ७६१६ नम्बरको कारभित्र प्रहरीका भान्से रुम्बाको शव भेटिएको हो । मृतक रुम्बाको टाउँको पछाडि गोली प्रहार गरी हत्या गरिएको प्रहरी स्रोत बताउँछ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै