जनकपुरमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भने -ठूला दलहरु भ्रष्टचारमा लिप्त भएका छन

जनकपुरधाम । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले ठूला तीन दलहरू चरम भ्रष्टाचारमा डुबेको आरोप लगाएका छन् ।

जनकपुरधाममा आज नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) मधेश प्रदेश कमिटीको कार्यालय उद्घाटन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष भट्टराईले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र मधेशवादी राजनीतिक दलहरू चरम भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाए ।

आफूले गरेका भ्रष्टाचारहरू लुकाउन सरकार फेरिएको भन्दै उनले एकले अर्कोलाई आरोप लगाउने गरेको बताए ।

उनले भ्रष्टाचार तन्त्रमा फसेको राजनीतिलाई भ्रष्टाचाररहित, सुशासनयुक्त राजनीति स्थापना गर्ने र देशमा तीव्र विकास र समृद्धि ल्याउने एजेन्डा आफूले बोकेको बताए ।

उनले देशको मुख्य समस्या गरिबी र बेरोजगारी रहेको भन्दै यसलाई हटाउन आर्थिक विकासमा केन्द्रित हुनुपर्ने बताए ।

अध्यक्ष डा. भट्टराईले देशलाई २० वर्षभित्र गरिबीबाट मुक्त गर्ने, रोजगारी सिर्जना गर्ने गुरुयोजना आफूहरूले बनाएको बताए ।

उनले भोट किनेर सत्तामा पुग्ने र पालैपालो देशलाई काम भइरहेको भन्दै उनले भ्रष्टाचार अन्त्य गर्न अधिकार सम्पन्न आयोग बनाउने र सबै भ्रष्टाचारीहरूको छानबिन गरेर कठघरामा उभ्याउने प्रतिबद्धता बताए ।

संघीयतालाई पूर्णता दिलाउनका लागि तत्काल कानुनहरू बनाएर प्रदेश र स्थानीय तहलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा उनले जोड दिए ।

उनले केन्द्र र प्रदेशमा प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक संसद् मोडलबाट जाने गरी आफूहरू अघि बढ्ने बताए ।

अध्यक्ष डा.भट्टराईलाई सभामुख रामचन्द्र मण्डल, मुख्यमन्त्री सतीशकुमार सिंहलगायतले स्वागत तथा सम्मान गरेका थिए ।

जनकपुरधाम उद्योग वाणिज्य संघका पुर्व अध्यक्षहरुद्वारा उद्योग व्यवसायिक क्षेत्रका समस्या तथा समग्र अर्थतन्त्रको सुधार बारे अध्यक्ष डा. भट्टराईले छलफलसमेत गरेको नेता उमेश साहले जानकारी दिए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै