काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) मा कप्तान रोहितकुमार पौडेलले उत्कृष्ट फर्म जारी राख्दा लुम्बिनी लायन्सले चितवन राइनोजविरुद्ध १ सय ६८ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६७ रन बनाएको हो।
कप्तान पौडेलले टोलीका लागि अर्धशतकीय पारी खेल्दै सर्वाधिक ८० रनको योगदान दिए । ५७ बलको इनिङ्समा रोहितले ६ चौका र ५ छक्का प्रहार गरे
उनको यो दोस्रो अर्धशतक हो । यसअघि चितवनका रवि बोपाराले मात्र प्रतियोगितामा दुईवटा अर्धशतक बनाएका थिए ।
रोहितले यसअघि पोखरा एभेन्जर्सको विरुद्धमा ९५ रन बनाएका थिए । जारी प्रतियोगितामा रोहित सर्वाधिक रन बनाउने खेलाडी पनि हुन् । उनले ५ खेलमा २ सय ६१ रन बनाएका छन् ।
त्यस्तै, साद बिन जाफरले पनि अर्धशतक बनाउँदै ५२ रनको योगदान दिए । उनले ३५ बलमा ४ चौका र १ छक्का प्रहार गरे ।
खेलमा लुम्बिनीको सुरुवात भने राम्रो हुन सकेन । रिजन ढकालले घातक बलिङ गर्दा टोलीले दोस्रो ओभरमा १ रनको स्थितिमा दुई विकेट गुमाएको थियो । आशुतोष घिरैया १ रन र उन्मुक्त चन्द शून्य रन बनाएर आउट भए ।
अर्का ओपनर अर्जुन साउदले कप्तान पौडेलसँग मिलेर लुम्बिनीको इनिङ्स सम्हाल्दै गर्दा उनी पनि १२ बलमा १५ रन जोडेर आउट भए । उनले १ चौका र १ छक्का प्रहार गरे ।
त्यस्तै, टम मुर्सले ५ बलमा १० रन जोडे । त्यसपछि रोहित र जाफर मिलेर शतकीय साझेदारी गर्दै टोलीलाई प्रतिस्पर्धात्मक स्कोरतर्फ डोऱ्याए ।
चितवनका लागि रिजन ढकालले ३ विकेट लिए । ४ ओभर बलिङ गरेका उनले २९ रन खर्चिए ।