बीरगन्ज । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा जनकपुर बोल्ट्सले लगातार तेस्रो जित हासिल गरेको छ । जनकपुर बोल्ट्सले बिहीबार खेलिएको पहिलो खेलमा पोखरा एभेन्जर्समाथि सात विकेटको सजिलो जित हासिल गरेको हो ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको पोखरा एभेन्जर्सले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय ३८ रन बनाएको थियो। जवाफमा जनकपुर बोल्ट्सले १७।१ ओभरमै केवल तीन विकेट गुमाएर एक सय ४३ रन बनाउँदै विजयलक्ष्य पार गर्याे ।
जारी एनपीएलमा जनकुपर बोल्ट्सले तेस्रो र पोखरा एभेन्जर्सले दोस्रो खेल खेलेका हुन् । जनकपुर बोल्ट्स यसअघि खेलिएको दुई खेलमा पनि विजयी भएको थियो । आफ्नो पहिलो खेलमा जनकपुर बोल्ट्सले विराटनगर किङ्सलाई आठ विकेटले हराएको थियो ।
जनकपुर बोल्ट्सले आफ्नो दोस्रो खेलमा बलियो प्रतिद्वन्द्वी कर्णाली याक्समाथि आठ विकेटको जित हासिल गरेको थियो। जारी एनपीएलको सबैभन्दा महंगो क्लब पोखरा एभेन्जर्स भने आफ्नो पहिलो खेलमा पनि चितवन राइनोजसँग ८७ रनले पराजित भएको थियो ।
तीन खेल खेलेको जनकपुर बोल्ट्स ६ अङ्कसहित तालिकाको पहिलो स्थानमा आसीन छ । दुई खेल खेलेको चितवन राइनोज चार अङ्कसहित तेस्रो स्थानमा छ । दुई खेल खेलेको काठमाडौँ गुर्खाज दुई अङ्कसहित तेस्रो र एक खेलबाट दुई अङ्क बटुलेको सुदूरपश्चिम रोयल्स चौथो स्थानमा छन् ।
यसैगरी, तीन खेल खेलेको विराटनगर किङ्स दुई अङ्कसहित तालिकाको पाँचौं स्थानमा आसीन छ । एक खेल खेलेको लुम्बिनी लायन्स, दुई खेल खेलेको कर्णाली याक्स र दुई खेल खेलेको पोखरा एभेन्जर्सले भने अङ्क बटुल्न सकेका छैनन् ।