महोत्तरी । वडाध्यक्षको उपनिर्वाचनका लागि महोत्तरीको रामगोपालपुर वडा नम्बर २ मा मतदान जारी छ । वडाको मोहनपुरस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा मतदान भइरहेको हो ।
मतदानस्थलमा शान्त तथा उत्साहजनक रुपले मतदान भइरहेको मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले बताए । त्यहाँ बिहान ११ बजेसम्म कुल मतदाताको ३० प्रतिशत अर्थात ६४५ जनाले मतदान गरेका छन् ।
मतदान केन्द्र (क) मा ३६८ र (ख) मा २७७ जनाले मत खसालेका छन् । उपनिर्वाचन भइरहेको वडा २ मा ९४० महिलासहित दुई हजार १४१ जना मतदाता छन् ।
मतदान केन्द्रमा पुरुषको तुलनामा महिला मतदाताको संख्या बढी देखिएको छ । मतदान गर्न घुम्टो ओढेरसमेत महिलाहरु मत दिन आएका छन् ।
यस्तै ज्येष्ठ नागरिक र असक्तसमेत आफन्तका सहारामा मतदान केन्द्र पुगेका छन् ।
अनुकूल मौसम तथा प्रशासन र सुरक्षा निकायले शान्तिपूर्ण निर्वाचनका लागि भरपर्दो ब्यवस्था मिलाएकाले पनि वुथमा मतदाताको लाम लागेको छ ।