सप्तरी । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को उद्घाटन खेलमा जनकपुर बोल्टले विजयी सुरुवात गरेको छ ।
कीर्तिपुरस्थित रहेको त्रिवि मैदानमा शनिबार भएको खेलमा विराटनगर किंग्सलाई ८ विकेटले पराजित गर्दै जनकपुरले विजयी सुरुवात गरेको हो ।
विराटनगर किङ्ग्सले दिएको १२८ रनको झिनो लक्ष्य जनकपुरले १५.३ ओभरमा मात्र २ विकेट गुमाएर भेट्टायो ।
जनकपुरको जितमा लाहिरू मिलन्थाले अर्धशतक प्रहार गर्दै उनले ५३ बलमा ९ चौका र ३ छक्का को मद्दतले नटआउट रहि ७५ रन जोडे । हर्ष थाकरले ३३ बलको सामना गर्दै २ चौका सहित नटआउट २९ रन जोडे।
जनकपुरका ओपनरद्वय अनिल साह र आसिफ शेख भने चल्न सकेनन्। आसिफलाई विराटनगरका क्रिस सोलले पहिलो ओभरको चौथो बलमा शून्यमा बोल्ड गरे। दोस्रो ओभरको अन्तिम बलमा अनिललाई विराटनगरका प्रतिश जिसीले पनि ५ रनमा बोल्ड गरेका थिए।
त्यसपछि जनकपुरका लाहिरू मिलन्था र हर्ष थाकरबीच तेस्रो विकेटका लागि नटआउट ११६ रनको साझेदारी भयो। मिलन्था अमेरिकामा क्रिकेट खेल्ने श्रीलंकन मूलका खेलाडी हुन्। थाकर क्यानडाका अलराउन्डर हुन्।
उद्घाटन खेलमा विराटनगरले मार्टिन गप्टिलको अर्धशतकका बावजुत कमोजर ब्याटिङ गर्यो। टस जितेको जनकपुर बोल्ट्सले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको विराटनगर १९ ओभरमा १२७ रनमा अलआउट भयो।
विराटनगरका लागि न्युजिल्यान्डका गप्टिलले ५५ रन जोड्ने क्रममा ७ चौका र १ छक्का प्रहार गरे। १४औं ओभरको अन्तिम बलमा उनी हर्ष थाकरको बलमा जनकपुरका कप्तान अनिलकुमार साहबाट क्याच भए।
विराटनगरका अर्का ओपनर लोकेश बम ५ रन बनाएर खेलिरहदा दोस्रो ओभरमा ललित राजवंशीबाट बोल्ड भएका थिए।
नवौं ओभरमा विराटनगरले दोस्रो विकेट गुमायो। ओमानी ब्याटर अकिब इल्यासलाई १५ रनमा मोहमद मोहसिनले एलबिडब्लूको धरापमा पारे।
तेस्रो विकेटको रूपमा निकोलास किर्टोन आउट भए। उनलाई १२औं ओभरको अन्तिम बलमा हर्ष थाकरले आउट गरे। आउट भएका किर्टोन र विकेट लिने थाकर दुवै क्यानडाका हुन्।
राजेश पुलामी मगर १६औं ओभरमा १ रनमा रनआउट भए। १७ औं पहिलो बलमा प्रतिश जिसीलाई ललित राजवंशीले २ रनमा बोल्ड गर्दा विराटनगर दबाबमा आयो। दुई बलपछि बसिर अहमदलाई ललितले ७ रनमा आउट गर्दा विराटनगरले ७ विकेटको क्षतिमा १०४ रन मात्र जोडेको थियो।
कप्तान सन्दीप लामिछाने १८औं ओभरमा आठौं विकेटको रुपमा ७ रनमा क्याच आउट भए। लगत्तै अर्को बलमा जितेन्द्र मुखिया बोल्ड भए। दुवैलाई किशोर महतोले सिकार बनाए।
क्रिस सोल अन्तिम विकेटको रुपमा १९औं ओभरको अन्तिम बलमा बेन माइकको बलमा मोहसिनबाट क्याच भए।
बलिङमा जनकपुरका ललित राजवंशीले ३ विकेट लिए। उनले ४ ओभरमा २८ रन खर्चिए। किशोर महतो र हर्ष थाकरले २-२ विकेट लिए भने बेन माइक र मोहमद मोहसिनले १-१ विकेट लिन सफल भए।