जनकपुरधाम । प्रेमिकाले विवाह गर्न दवाव दिएपछि प्रेमीले उनको हत्या गरेको रहस्य बाहिरिएको छ । हत्या आरोपमा प्रेमीसहित तीनजनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनुषाको जनकनन्दिनी गाउँपालिका वडा– ३ का २२ वर्षीय रामललित खत्वे मण्डल, खजुरीका २० वर्षीय ज्ञानेन्द्र दास र शहीदनगर नगरपालिका वडा– ८ स्थित नाथपट्टीका २४ वर्षीय रमेशकुमार मण्डल रहेका छन् ।
जनकपुरधाममा शुक्रबार रेखाकुमारी मण्डलको हत्यामा संलग्न रहेको आरोपमा उनीहरुलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ ।
जनकनन्दिनी गाउँपालिका– ५ स्थित उधा टोलकी रेखालाई घटनास्थलमा ल्याउन ज्ञानेन्द्र दास र रमेशकुमार मण्डलले सहयोग गरेको र राम ललितले ढुंगाले अनुहारमा प्रहार गरी मुर्छा पारेका प्रहरीको भनाइ छ । त्यसपछि दाह्री काट्ने छुरा ब्लेडले घाँटी रेटी उनको हत्या गरेर फरार भएको धनुषा प्रहरीका प्रहरी उपरीक्षक भूवनेश्वर तिवारीले जानकारी दिए ।
मृतक रेखाको ललितसंग विवाह गर्ने तथा संगै बस्ने विषयमा विवाद हुँदा घटना घटेको हुन सक्ने अनुमान प्रहरीको छ ।
रेखाको प्रेम रामललितसंग करिब ६ वर्ष अघिदेखि थियो । तर उनीहरुको प्रेम सम्बन्ध घर परिवारले स्वीकारेन ।
सम्बन्ध स्वीकार नगरेपछि रेखा आफ्नो घरबाट भागी प्रेमी रामललितसंग विवाह गर्न दबाब दिएकी थिइन् । रामललितले नेपाली सेनामा फर्म भरेको हुँदा जागिर खाई सकेपछि मात्र विवाह गर्ने भनेका थिए ।
सोही विषयमा विवाद बढेपछि रामललित अन्य दुइजनासॅंग मिलेर रेखाको हत्या गरेको प्रहरी उपरीक्षक तिवारीले बताए ।
धनुषाको जनकनन्दिनी गाउँपालिका वडा– ४ स्थित खजुरी र धनुषाको कमला नगरपालिका– २ स्थित सरावेको सीमानामा आमा खोलामा उनको शब भेटिएको थियो ।
प्लाष्टिकको बोराभित्र बेवारीसे अवस्थामा प्रहरीले मंसिर ८ गते शव फेला पारेको थियो ।