काठमाण्डौँ । पछिल्लो समयदेखि सामाजिक सञ्जाल लगायतका माध्यममा द्धेषपूर्ण एवम् भ्रामक अभिव्यक्ति सार्वजनिक भइरहेकोप्रति गृह मन्त्रालयले आपत्ती जनाएको छ ।
केही व्यक्तिबाट सामाजिक सञ्जाललगायतका माध्यमको गलत प्रयोग गरी कानूनले निषेध गरेका द्वेषपूर्ण एवम् भ्रामक अभिव्यक्ति सार्वजनिक भइरहेको प्रति मनत्रालयले आपत्ति जनाएको हो ।
मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै सामाजिक सद्भाव र मर्यादामा आँच पुर्याउनुका साथै सार्वजनिक शान्ति सुव्यवस्थामा नै खलल पुर्याउने किसिमले घृणाजन्य अभिव्यक्ति गरिरहेकोतर्फ मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।
जो कोही व्यक्तिले जहाँसुकै रहेर गरे गराए पनि कानूनी रुपमा निषेधित र दण्डनीय त्यस्ता गतिविधिलाई कानूनी दायरामा ल्याइने भन्दै त्यस्तो कार्य नगर्न नगराउन मन्त्रालयले सबैलाई अनुरोध गरेको मन्त्रालयका सहसचिव एवम् प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए ।
विभिन्न जातजाति, धर्म सम्प्रदायबीचको सुसम्बन्धमा खलल पार्ने, गाली बेइज्जत गर्ने, अपराध गर्न दुरुत्साहन गर्ने एवम् सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने जस्ता घृणाजन्य अभिव्यक्तिलाई निरूत्साहित गर्न विभिन्न कानूनले त्यस्ता अभिव्यक्ति र गतिविधिलाई दण्डनीय अपराधको रुपमा व्यवस्था गरेको मन्त्रालयले स्मरण गराएको छ ।
साथै मुलुकले बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था अवलम्बन गरेको सन्दर्भमा नागरिकको विचार र अभिव्यक्ति स्वतन्त्रताको हकप्रति मन्त्रालय सदैव सचेत रही उच्च सम्मान गर्दै आएको तथा संविधानप्रदत्त मौलिक हकको कार्यान्वयन र सुनिश्चितताको लागि मन्त्रालय क्रियाशील र प्रतिबद्ध रहेको पनि विज्ञप्तिमार्फत जनाएको छ ।