काठमाण्डौँ । सरकारले दुग्ध किसानलाई एक अर्ब ३० करोड रुपैँया भुक्तानी गरेको छ । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले वर्तमान सरकार आएपछि दुग्ध किसानलाई एक अर्ब ३० करोड भुक्तानी गरेको बताएका छन् ।
बिहीबार राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति बैठकमा बोल्दै उनले यसबारे जानकारी गराएका हुन् ।
मन्त्री अधिकारीले सरकार दुग्ध विकास संस्थानलाई सुधार गर्ने पक्षमा लागेको बताए । असोज मसान्तसम्म किसानलाई भुक्तानी गर्नुपर्ने एक अर्ब ५८ करोड रुपियाँलाई घटाएर ५६ करोड बाँकी रहेको उल्लेख गरे ।
मन्त्री अधिकारीले कर्मचारीलाई उत्पदान दिनुपर्ने आठ करोड ३८ लाख, कर्मचारी तलब चार करोड ६३ लाख र सप्लाई पार्टीलाई भुक्तानी गर्नुपर्ने २३ करोड २४ लाखमध्ये अब कर्मचारीलाई उत्पदान दिनुपर्ने सात करोड २४ लाख, कर्मचारी तलब एक करोड सात लाख र सप्लाई पार्टीलाई भुक्तानी गर्नुपर्ने १३ करोड ११ लाख र भ्याट भुक्तानी तनी करोड ९४ लाख बाँकी रहेको बताए ।
मन्त्री अधिकारीले सरकारमा आएको चार महिनाको अवधिमा सरकारसँग ६० करोड र बाँकी आफैँ आम्दानी गर भुक्तानी गर्न सफल भएको बताए । सरकारले बिहीबारको मन्त्रिपरिषदबाट उखुको समर्थन मूल्य तोक्ने उनको भनाइ छ ।
भोलिसम्म उखुको समर्थन मूल्य सार्वजनिक हुने उनको जिकिर छ । यस्तै बाली बीमामा लामो समय रोकिएको पैसा यस वर्ष समयमा नै भुक्तानी दिएको उनी बताउँछन् ।
किसानलाई दिनुपर्ने मल समयमा उपलब्ध गराउन नसक्नुको पछाडि सरकारको झण्झटिलो कानुन भएको उनी बताउँछन् । त्यसका लागि सरकारले सार्वजनिक खरिद ऐनलगायतका कानुनहरु संशोधन गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको जनाए । उनले कानुनहरु संशोधन आगामी संसद् अधिवेशनमा अगाडि बढ्ने जानकारी गराए ।