ट्रेन्डिङ

गोली लागेपछि ढलेका क्याम्पस प्रमुखले लिएका थिए सुरेन्द्र कुशवाहाको नाम

वीरगन्ज । बाराको रामराजा बहुमुखी क्याम्पस प्रमुख हरिभुषण कुशवाहाको हत्यामा संलग्न मुख्य अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ ।

प्रहरीले उक्त घटनाका मुख्य अभियुक्त आदर्शकोतवाल गाउँपालिकाको खजुरिया बस्ने सुरेन्द्र कुशवाहालाई सार्वजनिक गरेको हो ।

बुधबार राति मोरङको विराटनगरबाट पक्राउ गरिएका उनलाई बिहीबार जिल्ला प्रहरी कार्यालय बारामा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको हो ।

कसरी पक्राउ परे ?

गत जेठ ३२ गते साँझ क्याम्पसबाट फर्किँदै गर्दा हरिभूषणमाथि आदर्शकोतवाल गाउँपालिका–३ बतरामा गोली हानी हत्या गरिएको थियो ।

मोटरसाइकलमा आएका दुईजनाले उनलाई गोली प्रहार गरेर फरार भएका थिए । गोली लागेर घाइते कुशवाहााको उपचारको क्रममा त्यही दिन मृत्यु भयो ।

गोली लागेपछि घाइते अवस्थाका हरिभुषणले सम्भावित अभियुक्तबारे बोलेका थिए । उनले भनेका थिए, ‘गाउँकै सुरेन्द्र कुशवाहाले मलाई गोली प्रहार गरेको छ र व्यक्तिगत रिसइबीका कारण उसले गोली हान्यो ।’

हरिभूषण यति भनेपछि बिते । तर उनको यही मृत्युकालीन घोषणाले प्रहरीलाई अनुसन्धानमा ‘स्ट्रेट क्लू’ दियो । उनको यही क्लूलाई प्रहरीले अनुसन्धानको मुख्य आधार बनायो, र घटनाको अनुसन्धान थाल्यो ।

बाराका प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रकाश सापकोटाका अनुसार हरिभूषणको हत्यालगत्तै प्रहरीले सुरेन्द्रलाई फरार सूचीको पहिलो नम्बरमा राखेर अनुसन्धान गरेको थियो ।

त्यसपछि प्रहरीका टोली परिचालित गरी विभिन्न कोणबाट अनुसन्धान गरियो । प्रहरीले सूचना, प्रविधिको मद्दतबाट सुरेन्द्रको मोबाइल फोन पनि ‘ट्रेस’ गरिरह्यो ।

यससँगै प्रहरीको टोलीले नेपाल र भारतका विभिन्न शहरमा पुगेर सुरेन्द्रलाई निगरानी गर्न थाल्यो ।

लामो सर्च अपरेशनपछि सुरेन्द्र मोरङमा लुकेर बसेको सूचना प्रहरीले पायो । त्यही सूचना पछ्याउँदै जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरिक्षक (इन्स्पेक्टर) नेतृत्वको ५ जना टोली पक्राउ गर्न गएको डीएसपी सापकोटाले बताए ।

प्रहरीले यसअघि नै हत्या घटनामा संलग्न आठ जनालाई पुर्पक्षका लागि कारगार चलान गरिसकेको छ ।

कारगार चलान हुनेमा चाँदसी प्रसाद कुशवाहा, चन्द्रमणि प्रसाद कुशवाहा, सुमेद कुमार कुशवाहा, अवधलाल कुशवाहा, चुल्हाई भन्ने श्रवणकुमार साह, ब्रम्हदेव राम, मोतिलाल चौधरी र हरिन्दर महरा चमार छन् ।

हत्याको कारण ?

क्याम्पस प्रमुख हरिभूषणको घर कलैया नगरपालिका र आदर्श कोतवाल गाउँपालिका–२ खजुरिया दुवै ठाउँमा छ । हरिभूषण गाउँका जमिन्दार हुन् ।

उनी जग्गा जमीनको कारोबारका कारण विवादमा तानिएका प्रहरीको ठम्याइ छ । जग्गाजमीनको विवादलाई लिएर ६ महिनादेखि दुई पक्षबीच मनमुटाव सुरू भएको थियो ।

डीएसपी सापकोटाका अनुसार सुरेन्द्रले गाउँकै एकजनालाई ऋण दिएका थिए । ‘ऋण दिएबापत उनले जग्गा धितो राखेका थिए । तर पछि पैसा फिर्ता तिर्न सकेनन्, त्यसबेला उनको जग्गा पनि सुरेन्द्रले फिर्ता दिएनन्,’ सापकोटाले भने, ‘पीडितले सुरेन्द्रसँग आफ्नो जग्गा फिर्ता गराइदिन हरिभूषणसँग हारगुहार मागेका खुलेको छ ।’

हरिभूषणले कारोबारबारे छलफल गरिरहँदा पीडितको जग्गा फिर्ता गरिदिन सुरेन्द्रलाई दबाब दिन थाले । यही कारणले पनि हरिभूषणको हत्या गरिएको प्रहरी निष्कर्ष छ ।

यस्तै राजनीतिले पनि उनीहरूको सम्बन्ध चिसिएको प्रहरीको ठम्याई छ। २०७४ को स्थानीय तहको निर्वाचनमा आदर्श कोतवाल गाउँपालिका–२ का वडाध्यक्ष सुरेन्द्रलाई चुनावमा उठाउने नभएर हरिभूषण नै थिए ।

उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट सुरेन्द्रले चुनाव लडेका थिए । तर, हारे । चुनावमा उनै हरिभूषणले पर्चापाम्प्लेटदेखि ब्यानर छपाउन पैसा लगानी गरेका थिए । यद्यपि वडाध्यक्षको चुनाव एमालेले जित्यो

२०७९ को चुनावमा गाउँपालिका–२ को वडाध्यक्षमा कांग्रेस उम्मेदवार मनोजकुमार मेहताले जिते । उनको जितपछाडि हरिभूषणको पनि हात थियो । यही कारण पनि सुरेन्द्र हरिभूषणसँग चिढिएर हत्यासम्मको अपराध गर्न पुगेको प्रहरीको अनुमान छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै