बीरगन्ज । ‘आगो लगाइदिन्छु’ भन्दै विवादित अभिव्यक्ति दिएको आरोपमा गृह मन्त्रालयले पर्साका सिडिओसंग स्पष्टीकरण सोधेको छ ।
केही साता अगाडि बीरगन्जमा उपभोक्ता हित संरक्षण मञ्चले आयोजना गरेको कार्यक्रममा सिडिओ गणेश अर्यालले ‘आगो लगाइदिन्छु’ भन्ने अभिव्यक्ति दिएका थिए ।
उक्त विवादित अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल भएपछि गृहमन्त्री रमेश लेखकले पर्साका प्रमुख जिल्ला अधिकारीलाई काठमाडौं बोलाएर स्पष्टीकरण सोधेका हुन ।
सिडिओ अर्यालले उक्त कार्यक्रममा भनेका थिए, ‘बुटवलमा चिकित्सकहरुको लापरबाहीले सुत्केरी महिलाको मृत्यु भयो, यहाँ त्यस्तो हुनुहुँदैन । म त्यस्तो भएको खण्डमा आगो लगाइदिन्छु ।’
यही अभिव्यक्ति विवादित बनेपछि पर्साका प्रमुख जिल्ला अधिकारी अर्याललाइ काठमाडौं बोलाएर स्पष्टीकरण सोधिएको गृह मन्त्रालयले जानकारी दिएको छ ।
यसैगरी मन्त्री लेखकले महोत्तरीका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीसंग पनि स्पष्टीकरण सोधेका छन् ।
सिडिओ कवारीलाई महोत्तरीकै सीडीओ कार्यालयको प्रशासन शाखाका नायब सुब्बा अशोककुमार यादव घुससहित पक्राउ परेको विषयमा स्पष्टीकरण सोधिएको हो ।
गृह मन्त्रालय स्रोतले भन्यो, ‘दुवै सीडीओहरूलाई उप्रान्त प्रश्न उठ्ने किसिमको काम नगर्न चेतावनीसहित जिल्ला पठाइएको छ ।’