जनकपुरधाम । सीताराम विवाहपञ्चमी महोत्सव नजिकिँदै जाँदा जनकपुरधाममा महोत्सवको विभिन्न कार्यक्रमको तीव्ररुपमा तयारी हुँदैछ ।
जनकपुरधाममा साताव्यापी मनाइने विवाहपञ्चमी महोत्सवको तयारीमा जुटिरहँदा भारतको अयोध्याबाट सीतारामको विवाहमा सरिक हुन जन्ती जनकपुरधामका लागि प्रस्थान गरेको छ ।
प्रत्यके पाँच वर्षमा एक पटक भारतको अयोध्याबाट निमन्त्रणा स्वीकार गरी अयोध्याबाट जन्तीसमेत जनकपुरधामका लागि प्रस्थान गरेको छ ।
नाचगान गर्दै गाजाबाजासहित अयोध्याबाट जनकपुरधामका लागि जन्ती प्रस्थान गरेको छ । मंगलबार नै जनकपुरधामका लागि प्रस्थान गरेको जन्तीमा भारतको विभिन्न राज्यबाट आएका साधुसन्तहरु आउँदैछन् ।
अयोध्यास्थित रामसेवकपुरमबाट जनकपुरधामका लागि प्रस्थान गर्नु अघि श्रीराम जन्मभूमि तीर्थ क्षेत्रका महामन्त्री चम्पत रायले नारिवल फोडेर जन्तीका लागि विदाई गरेका छन् ।
जन्तीहरु साना तथा ठूला गरी करिब एक सय जति सवारीसाधन रहेको जनाइएको छ ।
सवारीसाधनमा भगवान राम, भरत, सत्रुधन र लक्ष्मणसहित चार जना भाईहरुको स्वरुपसहितका झाँकीसमेत रहेको विश्व हिन्दू परिषद्का अन्तराष्ट्रिय मन्त्री राजेन्द्र सिंहले जानकारी दिए ।
अयोध्यास्थित राम मन्दिरको प्राण प्रतिष्ठापछि पहिलो पटक भगवान रामको जन्ती जनकपुरधामका लागि प्रस्थान गरिएको छ ।
भारतको १७ प्रान्तका रामभक्त तथा साधु–सन्तहरु सीताराम विवाहपञ्चमी महोत्सवमा जन्तीको रुपमा सहभागी हुने जनाइएको छ । यही मंसिर २१ गते हुने विवाह पञ्चमीको दिन सीतारामको विवाह सम्पन्न गराउनका लागि तिरुपति बालाजीबाट करिब ४० वैदिक ब्राह्मणको समूह पनि जनकपुरधाम आउने छन् । भारतको बक्सर, पटना, काँटी, सीतामढ़ी पुनौराधाम आदि स्थानमा विश्राम गर्दै जन्तीहरुको समूह नेपालको जनकपुरधाम आइपुग्ने छन् ।
नेपालको महोत्तरीस्थित मटिहानीमा एक रातको बास बस्ने कार्यक्रम छ । नेपाल–भारतको सीमानाकाबाट मटिहानी हुँदै जन्तीहरु आउने कार्यक्रम रहेको छ । जन्तीहरुको स्वागत तथा सत्कारका लागि महोत्तरीको मटिहानी नगरपालिका, जलेश्वर नगरपालिका र पिपरा गाउँपालिकाले भव्यता साथ गर्ने योजना एक साता अघिदेखि नै तयारी थालिएको मटिहानीका मेयर हरिप्रसाद मण्डलले बताए ।
सीताराम विवाहपञ्चमी महोत्सवको परम्परालाई तोड्दै जानकी मन्दिरले पहिलोपटक विश्व हिन्दू परिषद्को अगुवाईमा निमन्त्रणापत्र र तिलकसहितको भार लिएर अयोध्या गएको थियो ।
विगतमा जनकपुरधामस्थित राम मन्दिरमा तिलक लिएर जाने परम्परा रहेको थियो । भने हिन्दु संस्कार अनुसार हजाममार्फत अयोध्यामा निमन्त्रणा पत्र पठाइने गरिन्थ्यो ।
तर विश्वहिन्दू परिषद्ले भने जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवलाई निमन्त्रणा पत्रसहित तिलक लिएर नपठाइए जानकी मन्दिरसंगको साइनोसमेत भंग गर्ने चेतावनी दिए पछि पहिलोपटक निमन्त्रणापत्रसहित तिलक लिएर परिषद्कै अगुवाईमा पठाइएको थियो ।