रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकाले निष्क्रिय रहेका सहकारी संस्था खारेजीका लागि सूचना जारी गरेको छ । नगरपालिकाको क्षेत्राधिकारभित्र रहेका तथा विगत दुई वर्षदेखि निष्क्रिय रहेका सहकारी खारेजीका लागि सूचना जारी गरेको हो ।
सहकारी शाखाले चन्द्रपुर नगरपालिका सहकारी ऐन, २०७९ परिच्छेद १४ दफा ६६ उपदफा १, २, ३, ४, ५ र ७ तथा दफा ६७ उपदफा १, २ बमोजिम सहकारी संस्था विघटन तथा दर्ता खारेज गर्न सकिने जनाइएको छ ।
सूचना प्रकाशित भएको ३५ दिनभित्र संस्थाको दर्ता प्रमाणपत्र, सक्कल पान नं प्रमाणपत्र, पछिल्लो लेखा परीक्षणको प्रमाणित प्रतिलिपि, पछिल्लो साधारण सभा भेलाको छाँयाकपी लगायत आवश्यक कागजातसहित नगरपालिकामा उपस्थित हुन सहकारी शाखाका प्रमुख शेख नसरे आलमले आग्रह गरेका छन् । यद्यपी सूचनाको अवज्ञा गरेमा सहकारी संस्थालाई खारेज प्रक्रियामा लगिने उनको भनाइ छ ।
कुन–कुन सहकारी खारेजीको प्रक्रियामा ?
उनका अनुसार नगरपालिका अन्र्तगतका २५ वटा सहकारी संस्था खारेजीको प्रक्रियामा छन् ।
चन्द्रसूर्य बचत तथा ऋण सहकारी संस्था, छहारी समाज कृषि सहकारी संस्था, कामधेनु महिला दुग्ध उत्पादन सहकारी संस्था, देवी कृषि सहकारी संस्था, सक्षम कृषि सहकारी संस्था, अनुग्रह सामुदायिक बचत तथा ऋण सहकारी संस्था खारेजीको प्रक्रियामा रहेका छन् ।
यसैगरी चाँदी स्वास्थ्य सहकारी संस्था, सयपत्री बचत तथा ऋण सहकारी संस्था, सिद्धार्थ कृषि सहकारी संस्था, पारिजात साथी कृषि सहकारी संस्था, कामधेनु दुग्ध उत्पादक सहकारी संस्था, सगुन कृषि सहकारी संस्था, नुनथर कृषि सहकारी संस्था, आग्रह महिला विकास बचत तथा ऋण सहकारी संस्था, डुमरिया महिला कृषि सहकारी संस्था खारेजीको प्रक्रियामा रहेको प्रमुख आलमले जानकारी दिए ।
यस्तै शिवशक्ति कृषि सहकारी संस्था, गढीमाई कृषि सहकारी संस्था, रामायण कृषि सहकारी संस्था समेत खारेजीको प्रक्रियामा छन्।
त्यस्तै कलश बचत तथा ऋण सहकारी संस्था, शिव बचत तथा ऋण सहकारी संस्था, श्रमजीवी कृषि सहकारी संस्था, गोधुली कृषि सहकारी संस्था, आंशिक कृषि सहकारी संस्था, वृन्दावन महिला दुग्ध उत्पादन सहकारी संस्था र नुनथर सूचना तथा सञ्चार सहकारी संस्था खारेजीको प्रक्रियाको लागि नगरपालिकाले सूचनामा भनिएको छ ।