बारा । बाराबाट प्रहरीले भन्सार छलीका सामान बरामद गरेको छ । जिल्लाको फरकफरक स्थानहरुबाट भन्सार छलीका सामान बरामद गरेको हो ।
प्रहरीले चलाएको जाँच अभियानका क्रममा बिल बिजक भन्दाबढी मूल्यका सामानहरु नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीले ६३ लाख ६८ हजार ५५५ रुपैँया मूल्य बराबरका सामानहरु नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जनाए ।
इलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको टोलीले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ बाट झण्डै ४३ लाख मूल्यका सामान पक्राउ गरेको छ । प्रहरीले बीरगन्जबाट पथलैयातर्फ जाँदै गरेको म प्र ०३–००२ ख ०३१४ नम्बरको मिनी ट्रकबाट ४२ लाख ९३ हजार ८७० मूल्यका स्याम्पु, जिलेट, सर्फ लगायतका खुद्रा सामान बरामद गरेको हो ।
यसैगरी ईलाका प्रहरी कार्यालय अमलेखगंजको टोलीले १४ लाख ७९ हजार ७५० मूल्यका ५० बोरा केराउ, ५० बोरा दाल, भुटेको चना १० टन नियन्त्रणमा लिएको छ । जीतपुरसिमरा–२१ बट उक्त सामानहरु पक्राउ गरेको प्रहरी नायब उपरीक्षक सापकोटाले बताए ।
यस्तै प्रहरी चौकी पथलैयाको टोलीले जीतपुरसिमरा–१ पथलैयाबाट खुकुरी ५९ पीस, काजु ३५ किलोग्राम र काँचको थाल २ पोका गरी अन्दाजी मूल्य एक लाख ४४ हजार ९३० मूल्यका बरामद गरेको छ ।
त्यस्तै टोलीले सोही एरियाबाट सर्लाहीबाट काठमाण्डौँतर्फ जादैँ गरेको प्र.०२–०३–००१ च ३३६५ नम्बरको पिकअप गाडीबाट ४ लाख ५० हजार मूल्यका सामान पक्राउ ग¥यो ।
प्रहरीले त्यहाँबाट ५६ कार्टुन टायरमा हाल्ने लिकियुड र एक हजार ३४४ पिस रबर नियन्त्रणमा लिएको बताएको छ ।
बरामद सामान आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको प्रहरीले जानकारी दिएको छ ।