जनकपुरधाम । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चिनियाँ परियोजना बीआरआईमार्फत अनुदान सहयोग स्वीकार्य रहेको बताएका छन् ।
आज जनकपुरधामस्थित विमानस्थलमा संचारकर्मीहरुसंग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले बीआरआईमार्फत ऋण सहयोगको साटो अनुदानमा सहयोग लिन सकिने बताए ।
सभापति देउवाले भने, ‘बीआरआई परियोजनामा हामी प्रस्ट छौँ, ऋण होइन अनुदान लिनुपर्छ,’ उनले अघि थप्दैँ भने,‘बीआरआई परियोजनाका लागि अझै पनि छलफल चलिरहेको छ । छिट्टै निष्कर्षमा पुगिन्छ ।’
उनले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण फलदायी हुने विश्वास व्यक्त गरे । उनले सत्ता गठबन्धनमा कुनै खटपट नभएको पनि स्पष्ट पारे ।
‘संघीय सरकारमा कुनै खटपट छैन । यो गठबन्धन रहिरहन्छ,’ मधेश प्रदेश सरकारको परिवर्तनको सवालमा सभापति देउवाले भने, ‘मधेश प्रदेश सरकारको हकमा भने कांग्रेसको निर्णयले पुग्दैन । अरु दलहरुले पनि निर्णय गर्नुपर्ने हुन्छ ।’
जनकपुरधाम उपमहानगरपालिका– २५ स्थित लोहनाको वभनगामामा प्रजातन्त्रिक सेनानी स्व। अरविन्द ठाकुरको शालिक अनावरण कार्यक्रममा सहभागी हुन आएका हुन् ।
उनी आज नै काठमाण्डौ फर्किने कार्यक्रम रहेको नेपाली कांग्रेस धनुषाले जनाएको छ ।