ट्रेन्डिङ

क्रिकेटर साना प्रविण र एसईईमा पर्सा जिल्लामै सर्वोत्कृष्ट बनेकी छात्रा रिया साहलाई बीरगन्ज महानगरले गर्यो सम्मान

बीरगन्ज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पुर्याउने बीरगन्जकी क्रिकेटर साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई बीरगन्ज महानगरपालिकाले आज एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।

महानगरपालिकाले नेपाली क्रिकेट टोलीकी प्रविणलाई नगद ५१ हजार रुपैयाँ सहित सम्मान गरेको हो । यस्तै रिया साहलाई उनको उच्च शिक्षा अध्ययनमा थप हौसला प्रदान गर्न ल्यापटप सहित सम्मान गरेको छ ।

प्रविणले भर्खरै सम्पन्न यू–१९ टी–२० महिला एसिया क्वालिफायरमा थाइल्याण्ड वीरुद्धको खेलमा अर्धसतक प्रहार गर्दै नेपालको कीर्तिमानी साझेदारी गरेकी थिइन् ।

प्रविण नेपालकी ओपनर व्याट्सम्यान हुन् ।

यस्तै २०८० सालको माध्यमिक शिक्षा परिक्षा (एसईई) मा पर्सा जिल्लामै सर्वोत्कृष्ट अंक ३.९७ जीपीए ल्याएर रिया साह उत्तीर्ण भएकी हुन् ।

दुबै जनालाई महानगरपालिकाका प्रमुख राजेशमान सिंह र उपप्रमुख इम्तियाज आलमले संयुक्त रुपमा नगद र ल्यापटप हस्तान्तरण गरे ।

कार्यक्रममा महानगर प्रमुख सिंहले क्रिकेटको माध्यममार्फत वीरगंज र नेपालको नाम विश्वमै चिनाउन सफल भएको भन्दै साना प्रविण र परीक्षामा पर्सा जिल्लामै प्रथम भएर शिक्षामा छोरीहरु पनि अघि छन् भनेर अनुकरणीय उदाहरण बनेकी रिया साहलाई बधाई दिए ।

उनले छोरीहरुको आत्मबल बढाउन महानगरले कुनै कसर बाँकी नराख्ने भन्दै छोरीहरुले पनि केही गर्न सक्छन् है भन्ने उदाहरणको पात्रको रुपमा दुबै जना बनेको भन्दै आउँदा दिनमा अझै मेहनत  गरेर बीरगन्जको शिर उच्च गर्ने काममा लाग्न आग्रह गरे ।

यस्तै उपप्रमुख इम्तियाज आलमले वीरगंजलाई चिनाउन आफ्नो क्षेत्रबाट कम्मर कसेर लागेकाहरुको प्रोत्साहनमा महानगर सँधै साथमा रहेको धारणा व्यक्त गरे  ।

 

यस अघि पनि क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका आरिफ शेष र आसिफ शेषको महानगरले भव्य सम्मान गरेको स्मरण गर्दै उहाँले आउँदा दिनमा पनि वीरगंज र नेपाल चिनाउनेहरुलाई सम्मान गर्न महानगर पछि नपर्ने स्पष्ट पारे ।

बीरगन्ज महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले सबैको सकारात्मक पहलबाटै समाज परिवर्तन हुने हुँदा छोरीहरुलाई पढ्न र खेल्न घरैबाट उत्साह दिनु पर्ने धारणा राख्दै साना र रियाको अभिभावक त्यसको ज्वलन्त उदाहरण रहेको पनि बताए ।

कार्यक्रममा नेपाल क्रिकेट संघ पर्साका अध्यक्ष मनिष सिंहले क्रिकेटको विकासमा सबैले सहयोग गरिदिन आग्रह गरे ।

कार्यक्रममा बीरगन्ज महानगरपालिकाका कार्यपालिका सदस्य तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै