ट्रेन्डिङ

महोत्तरी अवैध रुपले सञ्चालित फर्निचर उद्योगमा छापा

महोत्तरी । सब डिभिजन वन कार्यालय महोत्तरीले अवैध रुपले सञ्चालित फर्निचर उद्योगमा छापा मारेको छ ।

महोत्तरीको सुदूर उत्तरी क्षेत्रको विभिन्न स्थानमा अवैधरुपमा सञ्चालित फर्निचर उधोगमा कार्यालयले छापा मारेको हो ।

सबडिभिजन वन कार्यालयका पदाधिकारीले उद्योगहरुमा छापामारी गरेर काठ तथा फर्निचर नियन्त्रणमा लिएका छन् ।

वन कर्मचारीले बर्दीबास नगरपालिका वडा नम्बर ५ स्थित गढन्ता र वडा नम्बर ११ खयरमारामा लुकिछिपी सञ्चालन गरेको २ वटा फर्निचर उद्योगमा शनिवार छुट्टाछुट्टै टोलीले छापा मारेको थियो ।

गढन्ता सबडिभिजन वन कार्यालयले बर्दीबास –५ गढन्ताको चुरे क्षेत्रमा पर्ने गोठजस्तो देखिने घरमा छापा मार्दा त्यहाँ फर्निचर कारखाना फेला पा¥यो ।

गढन्ता सबडिभिन वन कार्यालयका फरेष्टर नारायण घिमिरेको कमाण्डमा खटी गएको सशस्त्र वन रक्षकसहितको टोलीले तलासी लिँदा फर्निचर बनाउन तयार पारिएका साँखुका १५ थान चिरान, एक थान काठ चिर्ने मेसिन र फर्निचर बनाउन प्रयोग हुने ५ थान ज्यावल नियन्त्रणमा लिएको जनाइएको छ ।

यसअघि माइस्थान सबडिभिजन वन कार्यालयका प्रमुख कृष्णकुमार पटेलको नेतृत्वमा सशस्त्र वन सुरक्षा शाखाका कमाण्डर अवतार लामासहितको संयुक्त गस्तीले बर्दीबास ११ खयरमारामा इजाजतबिनै सञ्चालित अर्को फर्निचर कारखानामा छापा मारेको थियो ।

छापामारीबाट सो फर्निचर उद्योगबाट २६ थान झ्यालको पल्ला बरामद भएका थिए । बर्दीबासको सुदूर उत्तरवर्ती चुरे क्षेत्रमा केही अवाञ्छित समूहले काठ तथा फर्निचरको अवैधरुपमा कारोवार गर्दै आएको सूचनाको आधारमा दलबलसहित घटनास्थल पुगेको वनकर्मी टोलीले दुबै ठाउँमा छापा मारेको सबडिभिजन वन कार्यालयले जनाएको छ ।

फर्निचर सञ्चालकको विवरण खुल्न बाँकी छ । छापामारीका क्रममा बरामद काठहरु बाँके मराहा तथा गढन्ता सबडिभिजन वन कार्यालयमा बुझाइएको छ ।

दुवै फर्निचर कारखानामाथि अनुसन्धान तथा सूचना सङ्कलन भइरहेको सबडिभिजन वन कार्यालयका पदाधिकारीले बताएका छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै