बीरगन्ज । पर्साको बहुदरमाइ नगरपालिकाका अधिकांश वडाअध्यक्षहरुले आफ्नो कार्यालय बन्द गरेका छन् ।
नगरसभाको निर्णय प्रमाणित गरी खाता सञ्चालनको माग गर्दै अधिकांश वडाअध्यक्षहरुले वडा कार्यालय आजदेखि बन्द गरेका हुन ।
नगरपालिका स्रोतका अनुसार बहुदरमाइ नगरपालिकाका वडा नम्बर १, २, ३, ४, ५ र ६ गरी ६ वटा वडा कार्यालय बन्द रहेका छन् ।
वडा कार्यालयमा जिन्सी सामान तथा स्वास्थ्य चौकीमा औषधीसमेत नहुँदा वडाअध्यक्षहरुले वडा कार्यालयबाट प्रवाह हुने सबै सेवामा रोक लगाएको ५ नम्बरका वडाअध्यक्ष सुनिल कुशवाहाले बताए ।
मेयर सिंगासन साह तेलीले मनपरी ढंगले नगरसभाको निर्णय प्रमाणित नगरी सर्वसाधारण जनतालाई दुःख दिन खोजेको भन्दै पालिकाका ६ वडा कार्यालयहरुले संयुक्तरुपमा वडाकार्यालय बन्द गरेका हुन ।
वडा कार्यालय बन्द भएपछि सबै सेवा प्रवाहको काम प्रभावित भएको छ । सिफारिसदेखि लिएर जन्मदर्ता, विवाह दर्तासहितका कामहरु पूर्णरुपमा बन्द भएको बताइन्छ ।
जिन्सी सामानसहित अति आवश्यक औषधी तथा कर्मचारीहरुको तलबसमेत खुवाउन नसकिएको १ नम्बरका अर्का वडाअध्यक्ष प्रमोद यादवको भनाइ छ ।
उनका अनुसार नगर सभा भएको एक महिना भन्दा बढी भइसकेको छ । तर मेयर तेलीले अझसम्म नगरसभाको निर्णय प्रमाणित गरेका छैनन् ।
जसकारण खाता सञ्चालनदेखि लिएर बजेट खर्च गर्नसमेत नपाइएको उनी बताउँछन् । त्यसकारण मेयर तेलीको मनपरीविरुद्ध आफूहरु संयुक्तरुपमा वडाकार्यालय बन्द गरेको उनको दाबी छ ।
विवादको जड
बहुदरमाइ नगरपालिकामा चर्किएको विवादको जड हो– ६ नम्बर वडा कार्यालय । यो कार्यालयमा वडाअध्यक्ष र वडाासमितिहरुबिच मनमुटाव छ ।
जसकारण यहाँ वडासमितिको परिषद् हुन सकेको छैन । तर मेयर तेलीले कर्मचारीलाई वडाको विनापरिषद् नै ६ नम्बरको बजेट रेडबुकमा राख्न भनेका थिए ।
नगरपालिका स्रोतका अनुसार यही वडाको बजेट राख्न नमान्दा मेयर तेलीले नगरसभाको निर्णय प्रमाणित गर्न आनाकानी गरिरहेका छन् ।
यो वडामा उनकै आफन्त वडाअध्यक्ष छन्, जसकारण मेयर तेलीले रेडबुकमा बजेट नराखिए नगरसभाको निर्णय प्रमाणित नगर्ने ढिपी कसेको बताइन्छ ।
नगरसभाको निर्णय पारित नगर्दा अझ नगरपालिकाले बजेट खर्च गर्ने अख्तियारी पाउन सकेको छैन, जसकारण कर्मचारीहरुको तलबदेखि लिएर औषधीको अभाव तथा दिवा खाजासमेत विद्यार्थीहरुलाई खुवाउन सकिएको छैन ।