जनकपुरधाम । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले चीन भ्रमणको पुर्वसंध्यामा रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल बीआरआईमा हस्ताक्षर नगर्ने बताएका छन् ।
जनकपुरधाममा आज संचारकर्मीहरुसंग कुराकानी गर्दै पूर्वउपप्रधान तथा गृमहन्त्री निधिले प्रधानमन्त्री ओलीले चिनियाँ बीआरआई परियोजनामा हस्ताक्षर गर्न नहुने बताए । उनले बीआरआई सही हो कि होइन भनेर प्रतिनिधि सभामा छलफल हुनुपर्ने पनि बताए ।
उनले भने, ‘प्रधानमन्त्रीज्यूले अहिलेकै अवस्थामा चिनीयाँ परियोजना बीआरआईमा हस्ताक्षर गर्नुहुन्न, सभापति देउवाज्यूसंग पनि यस विषयमा कुराकानी भएको छ ।’
बीआरआईबारे कांग्रेस सभापति शेरबहादुर देउवाले पनि प्रधानमन्त्री ओलीलाई भनिसकेको उनले बताए । नेता निधिले भने, ‘अमेरिकी परियोजना एमसीसीमा पनि बृहत् छलफल भएको थियो । बीआरआईमा पनि छलफल आवश्यक छ ।’
बीआरआईमार्फत ऋण नभई अनुदान मात्र लिनुपर्ने कांग्रेसको अडान रहेको उनको भनाइ छ ।
नेता निधिले दुई वर्षसम्मका लागि ओली नै प्रधानमन्त्री रहनेसमेत उनले बताए । उनले दुई वर्षपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने विषयमा दुवै नेताबीच सहमति भएकाले सरकारको भविष्यलाई लिएर कुने किसिमको शंका उपशंका नगर्न आग्रह गरे ।
उनले बीआरआईको विषयलाई लिएर अहिलेको सरकारलाई कुनै पनि फरक नपर्ने समेत बताए ।