ट्रेन्डिङ

गढीमाई मेलामा ‘ड्रोन’ उडाउन रोक, प्रशासन भन्छ – सूचनाको अवज्ञा गर्नेलाई कारबाही गरिनेछ

बीरगन्ज । बाराको गढीमाई मेलामा ड्रोन उडाउन निषेध गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाराले शुक्रबार एक सूचना जारी यस्तो बताएको हो ।

प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले कुनै व्यक्ति तथा संघ संस्थाहरुलाई प्रशासनको अनुमतिबेगर गढीमाई मेलामा ड्रोन उडान रोक लगाएका हुन् ।

उनले सूचनामार्फत भनेका छन्, ‘ड्रोन जडित मानवरहित हवाई उपकरण उडान सम्बन्धी कार्यविधि, २०७५ बमोजिम कुनै व्यक्ति वा संस्थाले ड्रोन क्यामरा उडान गर्ने भएमा जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिई ड्रोन क्यामेरा उडान गर्ने सक्ने प्रावधान रहेको छ । बाराको महागढीमाई नगरपालिका–१ बरियारपुरस्थित गढीमाई मन्दिरमा मंसिर १ गतेदेखि एक महिनाका लागि सुरु भएको पञ्चवर्षिय मेलालाई लक्षित गरी कुनै व्यक्ति, संघ संस्थाले यस कार्यालयको अनुमति बेगर ड्रोन क्यामरा उडान गर्न पाइने छैन ।’

यो सूचनाको विपरित गइ कसैले त्यस्तो कार्य गरेमा/गराएमा ड्रोन जफत गरी ड्रोन धनीलाई प्रचलित कानुन बमोजिम कारबाही गर्ने चेतावनीसमेत दिइएको छ ।

‘यदि यस सूचनाको अवज्ञा गरी कोही कसैले ड्रोन क्यामरा उडान गरेको देखिए/पाइए ड्रोन क्यामरा जफत गर्ने तथा ड्रोन धनी र उडानमा संलग्न व्यक्तिलाई प्रचलित कानुन बमोजिम कारवाही गरिने यसै सूचनाद्वारा सबैमा जानकारी गराइन्छ, ’ सूचनामा भनिएको छ ।

बाराको बरियारपुरमा यहि मंसिर १ गतेदेखि एक महिनाका लागि पञ्चवर्षिय गढीमाई मेला लागेको छ ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै