बीरगन्ज । चालु आर्थिक वर्षमा पर्साका सरकारी कार्यालयहरुले यथेष्ठ बजेट खर्चिएका छैनन् । चालु आर्थिक वर्ष २०८१/०८२ को चार महिनाको अवधिमा जिल्लाका सरकारी कार्यालयहरुले पर्याप्त बजेट खर्चिन नसकेका कोष तथा लेखा नियन्त्रकको कार्यालय (कोलेनिका) ले जनाएको छ ।
कार्यालयका अनुसार यो वर्षमा पर्साका सरकारी कार्यालय तथा पालिकाहरुका लागि पुजीँगततर्फ वार्षिक दुइ अर्ब ५८ करोड २७ लाख ८६ हजार ७५० रुपैँया विनियोजन गरेको थियो ।
जसमध्ये १५ करोड ६९ लाख ३३ हजार ५२८ रुपैँया मात्र खर्च भएको हो । यो जम्मा पुजीँको ६ दशमलव ०८ प्रतिशत रहेको कोलेनिकाले बताएको छ ।
कार्यालय प्रमुख यज्ञराज उप्रेतीका अनुसार सङ्घीय सरकार मातहतका सरकारी कार्यालयले चालु आवको चार महिनामा यति खर्च गर्नु नगन्य बराबरको हो ।
चालु आवको कात्तिक मसान्तसम्मको अवधिमा नयाँ बोलपत्र ‘डकुमेन्ट’ बनाउनेदेखि बोलपत्र आह्वानसम्मका काम हुने भएकाले पुँजीगत खर्च बढ्न नसकेको उनले बताए ।
चाडबाड र वर्षायाम पनि सकिएकाले सरकारी कार्यालयको पुँजीगत खर्च बढ्ने अनुमान गरेको उनको विश्वास छ ।
पर्साका सरकारी कार्यालयको वार्षिक चालु खर्चतर्फ दश अर्ब ४६ करोड १४ लाख ७५ हजार चार सय ९९ विनियोजन गरिएको छ । चालु आवको चार महिनामा कूल विनियोजित रकमको २८ दशमलव २५ प्रतिशतअर्थात् दुई अर्ब ९५ करोड ५५ लाख ८० हजार दुई सय ३८ रकम खर्च भएको छ ।
पर्साका सरकारी कार्यालयले सोही अवधिमा ६५ अर्ब ७३ करोड २९ लाख २५ हजार एक सय १६ राजस्व सङ्कलन गरेका छन् ।