काठमाडौं– गत असोज ११ र १२ गतेको बाढी पहिरोले क्षतिग्रस्त बीपी राजमार्गमा रातको समयमा सवारी सञ्चालन बन्द गरिएको छ ।
सडक डिभिजन कार्यालय भक्तपुरका अनुसार राजमार्ग राति ९ बजेदेखि बिहान ४ बजेसम्म दैनिक ७ घण्टा बन्द हुनेछ ।
बीपी राजमार्गको प्रस्थानबिन्दु धुलिखेलदेखि सिन्धुलीको बर्खेखोलासम्म गएरातिबाट सात घण्टा सवारी साधन सञ्चालन बन्द गरिएको कार्यालयले जनाएको छ ।
सडकखण्ड अन्तर्गत चौकीडाँडा, नार्के बजार र कालढुङ्गा ९भ्याकुरे खोला० देखि माम्तीखोलासम्म डाइभर्सन मर्मत भइरहेकाले सडक बन्द गरिएको हो । रातिको समयमा राजमार्गको विभिन्न सडकखण्डमा डाइभर्सन मर्मत भइरहेको सडक डिभिजन कार्यालय भक्तपुरले जारी गरेको सूचनामा जनाइएको छ ।
सडक कार्यालयले अर्को सूचना जारी नभएसम्मका लागि तोकिएको समयमा उक्त राजमार्गमा गाडी नचलाउन आग्रह गरेको छ ।