धनुषाको कमला नगरपालिकामा भूत मेला मनाउन २ दिन सार्वजनिक बिदा

जनकपुरधाम । धनुषाको कमला नगरपालिकाले आज र भोली गरी दुई दिनको सार्वजनिक विदा दिएको छ । हिन्दू धर्मावलम्बीहरुले कार्तिक पुर्णिमाको दिन कमला नदीमा स्नान गर्दै पूजापाठ गरी कार्तिक पुर्णिमा मनाउनका लागि कमला नगरपालिकाले आज र शुक्रबार गरी दुई दिनको विदा दिएको कमला नगरपालिकाका मेयर विश्वेश्वर यादवले एक विज्ञप्ति जारी गरेको छ ।

विदाको दिन नगरपालिका अन्तर्गत्को सम्पूर्ण सामुदायिक विद्यालयहरु, वडा कार्यालयहरु, स्वस्थ्य संस्थाहरु र नगर कार्यपालिकाको कार्यालयसमेतमा सार्वजनिक विदा रहने मेयर यादवले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । कमला नदीको परापूर्वकालदेखि नै कमला नदीमा स्नान गरेर कमला माताको पूजापाठ गरी भूत खेल्ने धार्मिक परम्परा रहेको छ ।

धनुषा–सिरहासंग जोडिएको कमला नदीमा स्नान गर्न दुरदराजबाट समेत श्रद्धालु भक्तजनहरुको घुइँचो लाग्ने गर्छ । कार्तिक पुर्णिमाको अवसरमा दुई दिनसम्म चल्ने सो मेलामा हजारौँको संख्यामा धामी झाँक्रीहरुसमेत सहभागी हुने गरेका छन् । यस मेलाा सिरहा, धनुषा, महोत्तरी, सप्तरी, उदयपुर र सीमावर्ती भारतको मधुवनी, दरभंगा, समस्तीपुरलगायत जिल्लाका लाखौं मानिस कमला नदीमा स्नान गर्न आउने गर्छन् ।

उनीहरु कमला नदीमा स्नान गरेर पूजापाठ गरी भूत खेलेर कमला माताको समेत पूजापाठ गर्ने गरिन्छ । कमला नदीमा स्नान गर्नका लागि बुधबारदेखि नै सो क्षेत्रमा श्रद्धालु भक्तजनहरुले भरिभराउ छ । प्रत्येक वर्ष धामी झाँक्रीहरुले भूत र घरको कुल देवता खेल्दै कमला नदीमा पुगेर स्नान गर्ने धार्मिक परम्परा रहेको छ । जसले गर्दा आम बोलीचालीको भाषामा यसलाई भूत मेला भन्ने गरिन्छ ।

यस दिनमा सिकारु धामी झाँक्रीहरु कमला स्नान गरेपछि तन्त्रमन्त्रसहितका विद्यामा निपुन हुने धार्मिक मान्यता छ । धामी–झाँक्री बन्ने विश्वासका साथ उनीहरु देवता खेल्दै कमला नदीमा स्नान गरेपछि कमलेश्वरी देवीले तान्त्रिक विद्याको वर दिने तथा योग पाको हुने धार्मिक विश्वास छ ।  भूत मेलामा स्नान गरेपछि घर आउने बेलामा भक्तजनहरूले कमला नदी र गंगासागरको शुद्ध पानी आ–आफ्नो घर लैजाने गरेका छन् । मूल धामीले मन्त्र सिद्धि गरिदिएपछि धामी बन्ने प्रक्रिया पूरा हुने धार्मिक विश्वास छ । तन्त्र सिद्धिका लागि यस दिन पूर्णाहुति दिने चलन पनि छ ।

मिथिलाका सर्वसाधारणमा पहिलेदेखि नै तन्त्रमन्त्रको विधामा धार्मिक विश्वास छ । यद्यपि यसको कुनै वैज्ञानिक आधार भने नरहे पनि अन्धविश्वासका रुपमा नभई लोकआस्थाको रुपमा रहेको संस्कृतिविद् एवं साहित्यकार राजेन्द्रप्रसाद विमल बताउँछन् । तर पछिल्लो समय यस परम्परालाई कतिपयले अन्धविश्वासका रुपमा समेत परिभाषित गर्न थालेका छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै