व्रतालुहरु बिहानैदेखि छठ घाटमा व्यस्त (तस्विरसहित)

जनकपुरधाम । आज विहानैदेखि व्रतालुहरुले जनकपुरधाममा श्रृंगारिएका विभिन्न घाटमा प्रसादहरु राख्न थालेका छन् ।

अस्ताउने सूर्यलाई पूजाअर्चना गरी मनाइने छठ महापर्व मनाउनका लागि अहिलेदेखि व्रतालुहरुले घाटहरुमा फलफूललगायतका विभिन्न सामग्रीहरुसमेत राख्न थालेका छन् ।

शुद्धता, सद्भाव र आस्थाको महापर्व छठ आज श्रद्धा एवं हर्षोल्लासका साथ मनाइँदैछ । आराध्यदेव सूर्यको आराधना गरी मनाइने यस पर्वको तेस्रो दिन व्रतालुले बेलुकी कुण्ड, पोखरी र तलाउमा उभि दुबै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षता, फूल हालेर खेतबारीमा भएका पूजा सामग्री र घरमा बनाइएको विशेष पकवानसहित अस्ताउन लागेको सूर्यलाई अर्घ दिइ पूजापाठ गर्ने छन् ।

सन्तान प्राप्ती, निरोगिता, सुख, समृद्धि र चर्मरोग निको हुने धार्मिक विश्वास अनुरूप आत्मीयता र सद्भावको प्रतीकको रुपमा पनि छठ पर्व मनाइन्छ । छठ पर्वमा धनी, गरिब, उचनिचको भेदभावरहित सबै वर्ग, समुदाय एउटै सांस्कृतिक पृष्ठभूमिमा पूजाअर्चनाका लागि उभिने गर्छन् ।

छठ पर्वको अवसरमा चमार जातिले ढोल बजाउने, मालीले फूल, बरईले पानको पात, कुम्हारले माटोको भाँडा, डोमले बाँसका सामग्री पु¥याउने गरेका कारण पनि यस पर्वमा श्रम विभाजनको अत्यन्तको रुपमा लिने गरिन्छ ।

यस पर्वमा बाँसको सामग्रीमा अर्घ दिएपछि वंशवृद्धि, केरामा भगवान विष्णुको वास, ठकुवामा समृद्धि र मौसमी फल प्रकृतिप्रति कृतज्ञताको द्योतक भएको जनविश्वास रहेको पाइन्छ । ऋग्वेदमा सूर्य नै बल, यश, चक्षुस्रोत, आत्मा र मन भएको कुरालाई ध्यानमा राख्दै पनि श्रद्धालुले छठ महापर्वमा पूजाअर्चना गरी मनोवाञ्छित फल प्राप्त हुने धार्मिक विश्वास पाइन्छ ।

 

वर्षौदेखि महाराज सागरमा छठको व्यवस्थापन गर्दै आएका दशरथ तालव युवा कमिटीका अध्यक्ष जोगीप्रसाद साह ‘गणेश’ले आज विहानैदेखि व्रतीसहित उनका आफन्तजनहरुले छठको घाटमा आएर घरमै पकाइएका विभिन्न प्रसादका लगायतका सामानहरु राखेर आफैले रेखदेख गरिरहेको बताए ।


भोली विहानसम्म रातभर प्रायः व्रतीहरु पनि जाग्राम बसेर छठ घाटमा बस्ने गर्दै आएको उनले बताए ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै