वीरगन्ज । पर्सासहित मधेसका जिल्लाहरूमा छठ पर्वको तयारी तीव्र रुपले सुरु भएको छ । तिहार सकिएलगत्तै विधिवत रुपले छठको तयारी सुरु भएको हो ।
लोकआस्थाको महापर्व छठका लागि नजिकका जलाशयको सरसफाइ र पूजाका लागि घाट निर्माण एवं आवश्यक सामग्रीको खरिदबिक्री गर्न व्यस्तता बढेको छ । वीरगन्जसहित पर्सा, बारास्थितका पोखरीहरूमा छठ पर्वका लागि घाट निर्माण तीव्र रूपमा भइरहेको छ । दीपावली सकिएलगत्तै छठ पर्व सुरु हुने हुँदा घाट सिंगार्ने कार्यलाई तीव्र पारिएको हो । घाट निर्माणमा कुनै त्रुटि हुन नदिन कतिपय पोखरीमा दीपावलीअघिदेखि नै घाट निर्माण भइरहेको छ ।
सूर्य उपासनाको यस पर्वमा पानीमा उभिएर उदाउँदो र अस्ताउँदो सूर्यदेवलाई अर्घ दिनका लागि जलाशयहरूलाई विशेष रूपमा सजाइन्छ । पोखरीको सजावटमा पोखरी वरपर बाँसका भाटाले तयारी पारिएका घाटमा रङ्गीचङ्गी कपडा, केराको बोट र झिलिमिली बत्तीले सजाइन्छ ।
जसमा छठ व्रतालुहरूले छठपूजाका सामग्री लस्करै सजाएर राख्ने गर्छन् । वीरगन्जस्थित घडीअर्वा पोखरी, नगवा पोखरी, स्विमिङ पुल, सिर्सिया नदी लगायतका विभिन्न पोखरीमा छठ घाट निर्माण हुने गर्दछ । पोखरी नहुनेहरूले नजिकैको नदी तथा खोलाका घाटमा गएर पूजा गर्ने गर्छन् ।
पोखरीमा गरिने यो विशेष तयारीले यस क्षेत्रमा धार्मिक पर्यटन बढ्न सक्ने अपेक्षा पनि गरिएको छ । यस पर्वमा सहभागी हुन देशका विभिन्न भागबाट आउने भक्तजनले जनकपुरधामको अर्थतन्त्रमा पनि टेवा पु¥याउने विश्वास लिइएको छ ।
छठ पर्वको अवसरमा छठका मनमोहक दृश्य हेर्न आसपासका गाउँ तथा छिमेकी जिल्ला भारतबाट समेत हजारौँ भक्तजनको आउने गर्छन् ।
सामग्री किन्नेको भिड
वीरगन्जका स्थानीय बजारमा छठ पर्वमा प्रयोग हुने सरसामग्रीको किनबेच बढेको छ । पर्साका विभिन्न स्थानीय बजारहरुमा छठमा प्रयोग गरिने सामग्रीको व्यापारमा वृद्धि भएको हो ।
छठ पर्व नियम, निष्ठा र विधिपूर्वक मनाइने साझा संस्कृति भएका कारण आवश्यक पर्ने सामग्रीको जोहो र किनमेल गर्न नागरिक व्यस्त छन् । विशेष गरी सन्तानको सुख, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइने छठ पर्वलाई अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने पर्वका रूपमा लिइन्छ ।
छठमा प्रसादका रूपमा केरा, फलफूल, पान, सुपारी, भान्टा, मुलालगायत किनमेलका लागिसम्पूर्ण तराई मधेशका प्रमुख बजारमा चहलपहल बढेको हो ।
लक्ष्मीपूजाको चार दिनपछि अर्थात् कार्तिक शुक्ल पक्षको चौथी तिथिका दिनबाट छठ पर्व विधिवत् रूपमा आरम्भ हुन्छ । तराईका जिल्लामा छठपूजाका लागि चाहिने सामग्रीसँगै हरिया तरकारी र फलफूल किन्नेहरूको पनि बजारमा उत्तिकै भिडभाड छ । खास गरी छठपूजामा छठी मातालाई अर्पण गरिने प्रसादमा स्याउ, केरा, सुन्तला, पानी भएको नरिवल, उखु, हरियो बोडी, मुला, अदुवाको बोट पर्छन् ।
अहिले छठ पर्व मनाउनेहरू पोखरीका डिल र नदीका तट सरसफाइ गर्दै आफ्ना लागि पूजा स्थल सुरक्षित बनाउन थालेका छन् ।
यहाँ छठ घाटमा लाखौँ रकम खर्चेर सरसफाइ, सजावट र व्यवस्थापनको काम पनि धमाधम भइरहेका छन् । छठ पर्व नजिकिएकाले माटोका भाँडा र बाँसको चोयाबाट बनेका सामग्रीको माग बढेको छ । मुख्य बजारमा अहिले दर्जनौँ स्थानमा बाँसबाट बनेका ढाकी, नाङ्लोलगायतका सामग्री बेच्न राखेको देखिन्छ ।