
जनकपुरधाम । भारतको अति महत्वकांक्षी योजना अनुरुप नेपालको जनकपुरधाम र भारतको अयोध्यालाई सीतारामको नगरीको रुपमा जोड्नका लागि रामायण सर्किट अन्तर्गत केही वर्षदेखि विभिन्न योजनाहरुमाथि व्यापक छलफल, विमर्शलगायतका गतिविधिहरु हुँदै आएको छ ।
तर केही महिना अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत विहारको सीतामढीको पुनौरामा सीता माताको प्रकाट भएको स्थल रहेको दाबी गर्दै पाँचसय एकडमा अर्बो भारतीय रुपैयाँको विशेष योजना घोषणा गरिएसंगै जनकपुरधामवासीहरु सचेत हुन थालेका छन् ।
विगतमा गौतम बुद्धलाई लिएर भारतले विभिन्न प्रपञ्च गरे जस्तै सीताको जन्मदेखि कर्मथलो तथा राजा जनकका विभिन्न पौराणिक ऐतिहासिकतासहित विभिन्न प्रमाणहरु रहँदा रहँदै पनि विलुप्त हुने भन्ने कगारले जनकपुरधामवासीहरु चिन्तित छन् ।
भारत सरकारले पुनौराधामलाई प्राचीन मिथिलाको राजधानी जनकपुरधामको विकल्पका रुपमा प्रवद्र्धन गर्ने परियोजना कार्यान्वयन गरिरहेको छ । धार्मिक नगरी जनकपुरधाम आउने पर्यटकमध्ये ७० प्रतिशत भारतीय पर्यटक रहेको आध्यात्मिक परिवेशमा सोको विकल्पका रुपमा पुनौराधाम विकास परियोजना कार्यान्वयनले पुनौराधामलाई विश्व पर्यटन गन्तव्य स्थल प्रमाणिकरण गर्दै भारतीय पर्यटकलाई पुनौराधाममै केन्द्रित गर्ने हुँदा जनकपुरधामको धार्मिक ऐतिहासिकतालाई ओझेलमा पार्ने खेल सुरु भएको देखिन्छ ।
पुनौराधाम माता जानकीको प्राकट्य स्थल रहेको मिथक छ । यसको कुनै पनि किसिमको प्रमाण भने छैन । यसको पुरातात्विक आधार नभए पनि भारत सरकारको सो परियोजनाले भविष्यमा जनकपुरधाम आउने भारतीय पर्यटकको मनोभावलाई परिवर्तन गर्ने र यसको प्रतिकूल प्रभाव जनकपुरधामलाई पर्ने संशय उत्पन्न भएको देखिन्छ ।
जनकपुरधाम बिना भारतको धाम र भगवान राम पनि अधुरो रहने यथार्थताको पृष्ठभूमिमा समृद्ध सांस्कृतिक विविधता अन्तर्गत जनकपुरधाम र भारतबीच सामाजिक, सांस्कृतिक र धार्मिक सम्बन्ध विस्तार, तीर्थाटनको प्रवद्र्धन गर्ने रामायण सर्किटको चर्चा परिचर्चा हुँदै गर्दा पुनौराधाम विकास परियोजना तीर्थाटन सूत्र विपरीत रहेको साधुसन्तहरुले बताउन थालेका छन् ।
सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणका क्रममा अयोध्या र जनकपुधामको ऐतिहासिक धार्मिक तथा सांस्कृतिक विकासका लागि गरिएको सम्झौता विपरीत पुनौराधाम विकास परियोजना संस्कृतिको जीवन मार्गलाई कमजोर बनाउने संकेत गरिरहेको डा. भोगेन्द्र झाले टिप्पणी गरेका छन् । समाजशास्त्री तथा अर्थविद् समेत रहेका डा. झाले नेपालमा जन्मेका गौतम बुद्धको बारेमा पनि भारत सरकारले विगतमा नक्कली तिलौराकोट निर्माण गरी भ्रम सृजना गरेको हुनाले यसप्रति सजग हुनुपर्ने यथेस्ट आधारहरु रहेका बताए । अर्थविद् डा. झाले भने, ‘जनकपुरधामलाई अहिलेसम्म पनि ऐतिहासिक धार्मिक महत्वका रुपमा स्वीकार नगरी मात्र क्रीडास्थलका रुपमा भारतले जिकिर गर्दै आएका कारण उनीहरुको नियत प्रस्ट रहेको बताए ।
उनले यस्तो अवस्था आउनुको दोषी यहाँका मठाधीश र नेताहरु रहेको बताए । उनले भने, ‘सुगौली सन्धी अघिसम्म पुनौराधाम नेपालकै भूमि हो । तथापि जनकपुरधामवासीहरुले आफ्नो धार्मिक पुरातात्विक तथा पौराणिक महत्वको संरक्षण संवद्र्धन नगरेका कारण यहाँको अस्तित्व संकटमा परेको छ । यहाँको मानिसहरु पनि मौन छन् ।’
भारतीय सरकार पुनौराधामलाई तिरुपति मन्दिर जस्तो बनाउने लक्ष्यसहित ५०० एकड जग्गा अधिग्रहण, अयोध्या–सीतामढी रेल विस्तार योजना कार्यान्वयनतर्फ अग्रसर रहेको छ । जसको उद्देश्य मिथिलाको संस्कृति तथा धरोहरलाई संरक्षण, प्रवद्र्धन गर्ने उल्लेख गरिएको छ । साधुसन्तको खोजी भइ प्राप्त जनकपुरधामको श्रेय चतुर्भुज गिरी र सूरकिशोर दासलाई नै मानिन्छ ।
१७ औँ शताब्दी तर्फ सूरकिशोर दासले यहाँको अतीतको गौरवगाथा बोकेको मिथिला, जनकपुरधाम अति प्राचीन रहेको खोज गरेका थिए । यसको प्राचीनता उजागर गर्ने स्रोतहरुमा वेद, उपनिषद् लगायतका ग्रन्थहरु भएको अवस्थामा जनकपुरधामको गौरवगाथा, दुई महान संस्कृतिको मिलन स्थलको अस्तित्वलाई औचित्यहीन गर्ने ध्येय समृद्ध सांस्कृतिक विविधतामाथि नै शंकाको मार्ग प्रशस्त छ ।
भारत सरकारले पुनौराधामलाई भगवान राम र सीताको जीवनसंग परिभाषित गरी पर्यटकको ध्यान केन्द्रित गर्ने अभियान सञ्चालन गर्नेतर्फ प्रयास गरिरहेको यहाँका केही साधुसन्त, मठाधिशलगायतकाले पनि पुनौराधामलाई नै जानकीको जन्म स्थल भनेर अभिव्यक्ति दिन थालेपछि जनकपुरधाममा भारतीय पर्यटकको ओइरोमा प्रतिकूल प्रभाव पर्ने व्यवसायीहरु बताउँछन् ।
जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले पुनौराधामलाई भारत सरकारले विकास गरेमा आउने दिनमा जनकपुरधामको पर्यटकको आवागमनमा समेत नकारात्मक असरसंगै व्यवसाय समेत चौपट हुने बताए । मिथिलाको प्राचीन राजधानी जनकपुरधाम रहेकाले ऐतिहासिक धार्मिक सांस्कृतिक धरोहरको संरक्षण र संवद्र्धन गरी सीताको पहिचानलाई जिवन्त बनाइ राख्न आवश्यक रहेको उनको भनाइ छ ।
जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले भारतको पुनौराधाममा जानकी जन्मभूमि सिद्धका लागि विभिन्न परियोजना कार्यान्वयनबाट जनकपुरधामलाई कुनै फरक नपर्ने बताए । उनले प्राचीन मिथिलाको राजधानी जनकपुरधाम रहेकाले राजा जनकको दरबारको दर्शनका लागि सीतासंग विवाह गर्नु अघि तोडिएको धनुषको एक टुक्रा धनुषाधाममा पनि रहेकाले र यस्ता अधिकांश प्रमाणहरु पनि रहेकाले यसले जनकपुरधामको महत्व लोप नहुने दाबी गरे ।
तर उद्योग वाणिज्य संघ मधेश प्रदेश उपाध्यक्ष जितेन्द्र महासेठले पुनौराधाममा निर्माण गरिने मन्दिरले जनकपुरधाममा प्रतिकुल असर पर्न नदिनका लागि यहाँका सचेत नागरिकले व्यापकरुपमा प्रचारप्रसार गर्नुपर्ने आवश्यकता रहेको बताए ।
जानकी अर्थात सीता र रामबाट जोडिएका जन्मस्थलदेखि वैवाहिक पौराणिक ऐतिहासिक स्थलहरु धनुषाको विभिन्न ठाउँमा छरिएर रहेकाले भारतीय पर्यटकहरु जनकपुरधाम आउनेमा कहिले पनि कमी नहुने उनले बताए ।