
जनकपुरधाम । भगवान सीताराम विवाह महोत्सव भव्य रुपमा मनाउने तयारीमा जानकी मन्दिर जुटेको छ ।
भारतको अयोध्यास्थित राम मन्दिर निर्माण समितिका सचिव सम्पत्त रायको नेतृत्वमा आउने विशाल जन्तीको व्यवस्थापन र जानकी मन्दिरमा कार्यक्रम आयोजनको तयारी सुरु भएको छ ।
आगामी मंसिर २१ गते विवाहपञ्चमी मूल समारोहले सीता स्वयम्बर र विवाह महोत्सवको आयोजन हुने जनाएको छ ।
जानकी मन्दिरले साताव्यापी रुपमा विवाह महोत्सवको आयोजना केही वर्षदेखि गर्दै आएको छ । मिथिलामा विवाहको विधि र रामायणमा वर्णित सीताराम मिलन प्रसंगलाई विवाह महोत्सवमा विशेष महत्वका साथ लिइने गरिन्छ ।
भगवान रामको नगरदर्शन, फुलवारी लिला, मटकोर, स्वयंर, विवाह महोत्सव, रामकलेवालगायतका विविध विवाहका विधिहरुलाई विशेष आयोजन हुँदै आएको छ ।
जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णव र अयोध्याका सन्त चम्पत्त रायलगायतको अग्रसरतामा विवाह महोत्सवमा अयोध्याबाट जन्ती ल्याउन थालिएको छ ।
झण्डै दुई दशकदेखि भारतको अयोध्याबाट जनकपुरधाममा जन्ती आउन थालिएको छ । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ पनि जन्तीमा सहभागी भएका थिए ।
मधेश प्रदेशका तत्कालीन मुख्यमन्त्री लालबाबु राउतको निमन्त्रणामा मुख्यमन्त्री योगी विवाह महोत्सवमा सहभागी भएका थिए ।
नेपाल–भारतबीच त्रेता युगदेखि नै ‘बेटी रोटी’ को सम्बन्ध रहँदै आएको छ । जनकपुरधाममा प्राकट्य सीता माता र अयोध्यामा अवतरित भगवान रामबीच त्रेता युगमा विवाह सम्पन्न भएदेखिको संस्मरणमा जानकी मन्दिरले हरेक वर्ष विवाह महोत्सवको आयोजना गर्दै आएको छ ।
सीताराम विवाह महोत्सव तयारीका लागि जानकी मन्दिरले सम्पन्न गरेको बैठकमा विगतको भन्दा भव्यरुपमा महोत्सवको आयोजन गरिने निर्णय गरेको छ ।
जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले अयोध्याबाट ५ सय भन्दा बढी संख्यामा जन्ती आउने बताएका छन् ।
महन्त वैष्णवले भने, ‘श्रीराम जन्मभूमि तीर्थक्षेत्र ट्रष्टका सचिव चम्पत रायको नेतृत्वमा जन्ती आउने जानकारी प्राप्त भएको छ ।’
महन्त वैष्णवले अघि थप्दैँ भने, ‘विवाह महोत्सवमा आउने जन्तीको स्वागत र विश्राम लगायतको कार्यक्रमबारे अगाडि नै अवगत गराउनु पर्छ, भगवान रामको अयोध्यामा प्राणप्रतिष्ठा भएपछि पहिलो पटक ठूलो संख्यामा जन्ती आउन थालेको छ ।’
हरेक पाँच वर्षमा जन्तीलाई विशिष्टता प्रदान गरिँदै आएको छ । सीताराम विवाह महोत्सवलाई भव्य रुपमा आयोजना गर्न जनकपुरधाम उपमहानगरपालिकाले सरसफाई लगायतको कामलाई विशेष ध्यान दिइने जनाएको छ ।
जनकपुरधाम नगरक्षेत्रको सरसफाई, मेलामा आउने श्रद्धालुहरुको बास, शौचालय, पिउने पानीलगायतको व्यवस्था गरिने जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले बताए ।
सीताराम विवाह महोत्सवको परम्परालाई जानकी मन्दिरले निर्वाह गर्दै आएको छ । संघीय सरकार अथवा प्रदेश सरकारको मेला आयोजनमा भूमिका न्यून हुने गरेको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले मधेश प्रदेशको उद्योग वाणिज्य महासंघ, जनकपुरधाम उपमहानगरपालिकालगायतका निकायसंग छलफल गरेका छन् ।
तर मधेश प्रदेश सरकारले विवाह महोत्सवका लागि बजेट विनियोजन भने गरिएको छैन । अयोध्यामा भगवान रामको प्राण प्रतिष्ठा भएदेखि जनकपुरधाममा हिन्दू धर्मावलम्बी पर्यटकहरुको ओइरो लाग्ने गरेको छ ।
दिनहुँ हजारौँको संख्यामा आउने भारतीय पर्यटकहरुलाई जनकपुरधाममा रहेका विभिन्न धार्मिक, सांस्कृतिक स्थलहरुको भ्रमण गराउने व्यवस्था मिलाउन आवश्यक रहेको जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले जानकारी दिए ।
अध्यक्ष भण्डारीले जनाए अनुसार जनकपुरधाम आउने पर्यटकलाई जति समय रोक्न सके त्यति नै राम्रो व्यवसायिक कारोबार हुने छ ।
हिन्दू पर्यटकहरुका लागि मधेश प्रदेशमा पर्याप्त दर्शनीय स्थलहरु रहे पनि समन्वय नहुँदा एकदिनमै फर्कने गरेको मारवाडी सेवा समितिका अध्यक्ष निर्मल कुमार चौधरीले बताए ।
विवाह महोत्सवको आयोजनाको बेला बारा जिल्लामा गढीमाईको मेला आयोजन पनि थालिएको छ । पाँच वर्षमा लाग्ने गढीमाई मेला पनि यस वर्ष नै परेको छ ।
गढीमाई मेला एक महिनासम्म लाग्ने गर्छ । गढीमाई मेलाको पनि व्यापक रुपमा प्रचारप्रसार भइरहेको छ । मेलामा लाखौंँ श्रद्धालु भक्तजनहरु आउने गरेका छन् ।
सीताराम विवाह महोत्सव र महागढीमाई मेलालाई जोड्न सके पर्यटकहरुलाई समेत सहज हुने अध्यक्ष भण्डारीको भनाइ छ ।