रौतहट । रौतहटमा ८ दिन पछाडि मृत फेला परेकी ५० वर्षीय महिलाको मृत्यु करेन्ट लागेर ज्यान गएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।
बिहीवार (हिजो) वृन्दावन नगरपालिकाको वडा नम्बर–१ स्थित जंगलमा मृत फेला परेकी फूलमतिया देवीको करेन्ट लागेर मृत्यु भएको पाइएको रौतहट प्रहरीले जानकारी दिएको छ ।
जंगलमा बंदेल मार्न करेन्ट लगाएर थापिएको पासोमा परेर मृत्यु भएको रौतहट प्रहरी प्रवक्ता दीपककुमार रायले बताए ।
पक्राउ परेकाहरुले दिएको बयान अनुसार यो घटना अहिलेसम्म बंदेल मार्न थापिएको पासोमा परेर महिलाको मृत्यु रौतहट प्रहरी प्रवक्ता रायले सुनाए ।
उनले भने,‘ जंगल नजिकै मकैबारी छ, त्यही मकैबारीमा बंदेलले परेसान गरेको थियो । त्यसकारण केही मान्छेहरु मिलेर बंदेल मार्नका लागि करेन्ट लगाएर बसे, जुन थापिएको करेन्टको पासोमा परेर ती महिलाको मृत्यु भएको हो ।’
प्रहरीले यो घटनामा संलग्न रहेको आरोपमा दुइजनालाई पक्राउ गरेको छ । वृन्दावान नगरपालिका वडा नम्बर–१ निवासी सुशिल विक र जितेन्द्र पटेल रहेका छन् ।
तर प्रहरीले पक्राउ परेकाहरु दुबैजनामाथि कर्तव्य ज्यान मुद्दा अन्तर्गत अनुसन्धान सुरु गरेको जनाएको छ । पक्राउ परेकाहरुलाई शुक्रबार दिउँसो तीन बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी गरिएको रौतहट प्रहरी प्रमुख दिलीप घिमिरे बताए ।
नगरपालिकाको विश्रामपुरस्थितको जंगलमा गाडेको अवस्थामा फुलमतिया देबीको शव फेला परेको थियो । गएको १४ गते आफ्नो घरबाट बेपत्ता भएकी थिइन् । बेपत्ताको आठौँ दिनपछि आज उनको शव फेला परेको हो ।
प्रहरीमा उजुरी आएपछि तालिमप्राप्त कुकुरको सहयोगमा खोजी गर्दा फूलमतियाको शव जंगलमा गाडेको अवस्थामा फेला परेको थियो ।