वीरगन्ज । रौतहटमा बिहीवार दिउँसो गाडिएको अवस्थामा मृत फेला परेकी महिलाको पहिचान खुलेको छ ।
रौतहट प्रहरीका अनुसार मृत फेला परेकी महिला वृन्दावन नगरपालिकाको वडा नम्बर–१ की फुलमतिया देबीको रहेको छ । उनी करिब ५० वर्षीय महिला हुन ।
रौतहटको वृन्दावन नगरपालिकाको वडा नम्बर–१ स्थितको जंगलमा आज दिउँसो गाडिएको अवस्थामा शव फेला हो ।
नगरपालिकाको विश्रामपुरस्थितको जंगलमा गाडेको अवस्थामा महिलाको शव फेला परेको गरुडा प्रहरी प्रमुख राजन कार्कीले बताए ।
प्रहरीका अनुसार उनी गएको १४ गते आफ्नो घरबाट बेपत्ता भएकी थिइन् ।
घरबाट बेपत्ताको ८ दिन पछाडि आज जंगलमा गाडेको अवस्थामा शव फेला परेको प्रहरी बताउँछ ।
प्रहरीमा उजुरी आइसकेपछि कुकुरको सहयोगमा खोजविन गर्दा जंगलमा गाडेको अवस्थामा शव फेला परेको गरुडा प्रहरीका डिएसपी कार्कीले बताए ।
फेला परेको शव हत्या गरिएको हुन सक्ने विश्लेषण गर्दै प्रहरीले हत्यामा अनुसन्धान सुरु गरिसकेको जनाइएको छ ।
हत्यामा संलग्न रहेको आरोपमा रौतहट प्रहरीले अहिलेसम्म शंकास्पद दुइजनालाई पक्राउसमेत गरिसकेको जानकारी दिएको छ ।
बरामद महिलाको शव सनाखत भइसकेकोले कसले र किन हत्या गरेको हो ? त्यसबारे विस्तृत अनुसन्धान सुरु गरिएको रौतहट प्रहरी प्रवक्ता दीपककुमार रायले जनाए ।