सिरहा । सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञका नाममा जातीय विभेद गरिएको घटनाको अनुसन्धान सकी प्रहरीले सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाएको छ।
जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी मुद्दामा छानबिन गर्दै प्रहरीले ६ दिनमै अनुसन्धान पूरा गरी बिहीबार प्रतिवेदन बुझाएको हो।
जिल्ला न्यायाधिवक्ता राजेन्द्र बस्नेतका अनुसार अनुसन्धान प्रतिवेदन प्राप्त भइसकेको छ, र अहिले त्यसको अध्ययन भइरहेको छ।
अध्ययनपछि अदालतमा अभियोगपत्र दायर गरिने उनले जानकारी दिए।
गत चैत ९ गते साँझ गाउँपालिकाका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप यादव जातीय विभेदसम्बन्धी घटनामा पक्राउ परेका थिए।
त्यसपछि चैत १० गते प्रहरीले उनीहरूसँगै बजरङ्गी बाबाविरुद्ध पीडितबाट जाहेरी लिएको थियो।
यही चैत १७ गतेबाट आयोजना गर्न लागिएको महायज्ञका लागि फागुन १० गते दीपक मल्लिकको घर अछूत भन्दै डोजर लगाएर भत्काइएको आरोप लागेको छ।
गाउँपालिका अध्यक्ष, पूर्ववडाध्यक्ष र बजरङ्गी बाबाले नै घर भत्काइदिएको घटना सार्वजनिक भएपछि यसको चौतर्फी विरोध भएको थियो।