
वीरगन्ज । वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसको मतगणना सुरु भइसकेको छ ।
मतदान भएको लगभग २४ घन्टापछि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतगणना सुरु भएको हो । पत्रकारलाइ नजिकै राखेर गणनालाई गर्ने निर्वाचन समिति सहमति जनाएपछि ठाकुरराम बहुमुखी क्याम्पसको मतगणना सुरु भएको हो ।
सुरुमा बाहिरको प्रतिनिधि पठाएको भन्दै निर्वाचन समितिले मंगलबार राती १० बजेदेखि नै हुने भनिएको गणना एक्कासी बुधबार विहान १० सम्मका लागि रोकिएको थियो । तर बुधबार विहानदेखि पनि विद्यार्थी संगठनका प्रतिनिधि र निर्वाचन समितिका पदाधिकारीहरुबिच विभिन्न मुद्दामा सहमति नजुट्दा गणनाको कार्य धकेलिँदै गएको थियो ।
अन्तिम चरणमा सबै विद्यार्थी संगठनका प्रतिनिधिहरुले निर्वाचन समितिका पदाधिकारीसंग आपसी सहमति गरेपछि अहिले पाँचबजेदेखि मतगणनाको कार्य थालिएको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए ।
उनका अनुसार मतगणनाका लागि मुचुल्का उठाउने सबै काम भइसकेको छ, अब मतपत्र मिलाउने काम भइरहेको छ । मतपत्र मिलाउने काम हुनु भनेकै मतगणना सुरु गरिएको प्रमुख जिल्ला अधिकारी अर्यालले जनाए । चार ठाउँबाट मतगणना सुरु गरिएको ठाकुरराम बहुमुखी क्याम्पसको निर्वाचन समितिले जनाएको छ ।
चाँडो भन्दा चाँडो गणना गर्नका लागि चार ठाउँबाट मत गन्ने काम सुरु गरिएको निर्वाचन समितिका प्रमुख दिलीप सिंहले बताए । ठाकुरराम क्याम्पसमा मंगलबार भएको मतदानमा कुल १० हजार ७२९ मतमध्ये ४० प्रतिशत अर्थात ४ हजार ३ सय ६ मत खसेको थियो ।
ठाकुरराम क्याम्पसमा स्ववियु सभापति पदका लागि विभिन्न दल निकट संगठन तथा स्वतन्त्र समूहबाट गरी १४ जना चुनावी प्रतिस्पर्धामा छन् ।
प्रत्यक्षतर्फ सभापति,सचिव र कोषाध्यक्ष र ११ सदस्य तथा समानुपातिकतर्फ १० सदस्य गरी कूल २१ पदका लागि २४७ जनाको उम्मेदवारी परेको थियो ।