काठमाण्डौँ । फास्ट ट्याकको काम आगामी ०८३ सालको चैत महिनाभित्रै सकिने नेपाली सेनाको दाबी छ । सेना दिवसको पूर्वसन्ध्यामा पत्रकार सम्मेलन गरेर सेनाले यसबारे बताएको हो ।
सेनाका युद्धकार्य विभागका निर्देशक सहायक रथी रविन्द्र खत्रीका अनुुसार चैतभित्रै सक्ने लक्ष्यका साथ काम भइरहेको छ । उनले द्रुतमार्ग निर्माणको कामलाई विशेष प्राथमिकतामा राखेर तदारुकताका साथ भइरहेको दाबी गरेका छन् ।
हालसम्म द्रुतमार्गमा भौतिक प्रगति ३८.२६ प्रतिशत भएको उनको भनाइ छ । सेनाले २१ वैशाख २०७४ मा फास्ट ट्याक निर्माण व्यवस्थापनको जिम्मा पाएको थियो । त्यसबेला ३० साउन २०८० भित्र निर्माण सम्पन्न गर्ने गरी सेनालाई जिम्मा दिइएपनि अहिले यो अवधि बढाएर २०८३ को चैत मसान्तसम्म सारिएको छ ।
तर, अहिलेको वित्तिय प्रगति अनुसार, सेनाको लक्ष्य पूरा हुन चुनौति देखिन्छ । फास्ट ट्याक आयोजनाका प्रमुख उपरथी कमलविक्रम शाहले भने आयोजनाको सुरुवातमा जटिल कामहरु भइरहेकाले प्रतिशतमा बढी नदेखिएको बताए । उनले यो आयोजनालाई चाँडै प्रगति हाँसिल गर्न सेनाले दिनरात लगाएर प्रयास गरिरहेको जिकिर गरेका छन् ।
प्रस्थान बिन्दु खोकना र अन्तिम बिन्दु निजगढ रहेको यस काठमाडौं–तराई÷मधेस द्रुतमार्ग सडक आयोजनाको कुल लम्बाइ ७०.९७७ किलोमिटर रहेको छ । काठमाडौं निजगढ द्रुतमार्ग मुलुकको उच्च प्राथमिकतामा परेको राष्ट्रिय गौरवको आयोजना हो ।