ट्रेन्डिङ

४८ घण्टाको ‘हाई अलर्ट’ पछि बारा प्रहरीले बरामद गर्‍यो १३ केजी अफिम

वीरगन्ज । बारा प्रहरीले लगातार ४८ घण्टाको लगातार निगरानीपछि भारी परिमाणमा लागू औषध ‘अफिम’ बरामद गरेको छ ।

दुई दिन अगाडी आएको गोप्य सूचनाको आधारमा प्रहरीले चलाएको जाँचका क्रममा १३ केजी अफिम बरामद भएको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय सिमराले दुइदिनपछि मकवानपुरबाट वीरगन्जतर्फ अफिम लैजाने तयारी भइरहेको सूराकी पाएको थियो । सोही सूचनापछि ‘हाई अलर्ट’ मा बसेको प्रहरी टोलीले आज बिहान अफिमसहित दुइ जनालाई पक्राउ गरेको हो ।

जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ सूर्य नेपाल अगाडीबाट उनीहरुलाई अफिमसहित पक्राउ गरिएको सिमराकी डिएसपी सुभद्रा लामाले पुष्टि गरिन् ।

पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ८ बस्ने भिमबहादुर मोक्तान र मनहरी गाउँपालिका वडा नम्बर ६ बस्ने सूर्यबहादुर मोक्तान छन् ।

उनीहरुको साथबाट प्रहरीले एक लाख ३३ हजार ६२५ रुपैँया समेत बरामद गरेको जनायो ।

प्रहरीले मोक्तानद्घय सवार मधेस प्रदेश ०३-००१ प १६१४ नम्बरको स्कुटरसमेत नियन्त्रणमा लिएको छ ।

प्रहरीको प्रारम्भिक बयानमा उनीहरुले अफिम लिएर वीरगन्ज आउँदै गरेको बताएका प्रहरी स्रोतले बतायो ।

पक्राउ परेकाहरुलाई म्याद थपका लागि जिल्ला अदालत बारामा पठाईएको प्रहरीले जनायो । यसबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै