काठमाण्डौँ । मधेस केन्द्रित दलहरूसँग सहकार्य र एकताका लागि तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)ले कार्यदल गठन गरेको छ ।
तमलोपाका वरिष्ठ नेता एवं संविधानसभा सदस्य डा.विजय कुमार सिंहको संयोजकत्वमा कार्यदल गठन भएको हो । कार्यदलमा रविशंकरलाल कर्ण (सुभाष) र बिभा ठाकुर सदस्य छन् ।
२०७९ साउनमा नै कार्यदल गठन गरिएको भएपनि आज मात्रै उक्त कार्यदल सार्वजनिक गरिएको हो । अन्तर पार्टी संवाद र विचार मिल्ने पार्टीहरूसँग सहकार्यको वातावरण बनाउन गठित कार्यदल नै मधेस केन्द्रित दलहरूबिच हुने संवादमा सहभागी हुने तमलोपाको प्रचार विभाग प्रमुख उमेश कुमार मण्डलले बताए ।
तमलोपा, जनता प्रगतिशील पार्टी र जनमत पार्टीको बिचमा सहकार्य गर्ने सहमति पहिले नै भइसकेको बताउँदै उनले जनाए । संविधान संशोधनको विषयमा केन्द्रित रहेर तमलोपा, मधेसी राष्ट्रिय मुक्ति मोर्चा, नेपाल सद्भावना पार्टी, जन अधिकार पार्टी तथा एकीकृत समाजवादी पार्टीका स्थानीय नेताहरू सम्मिलित संयुक्त मधेस संघर्ष समिति समेत यसअघि नै भइसकेको बताइएको छ ।
समितिले धनुषा, महोत्तरी र सिरहामा खबरदारी सभाहरू गरिसकेको छ । अन्य जिल्लाहरू यस्तै खबरदारी सभा गर्ने तयारी भइरहेको उमेश कुमार मण्डलले जानकारी दिए ।